कांग्रेसको संस्थापनइत्तर समूहभित्र देउवा हराउने सहमति

image आँखा संवाददाता शनिबार, आषाढ २६ २०७८
image

काठमाडौं । नेपाली कांग्रेसभित्रको संस्थापनइत्तर समूहभित्र साझा उम्मेदवारको खोजी सुरु भएको छ । आधा दर्जन बढी नेताले सभापतिमा दावी गरेपछि सहमतिको सूत्र खोज्न नेताहरुबीच औपचारिक संवाद सुरु भएको हो ।

नेता अर्जुननरसिंह केसीको संयोजनमा शुक्रबार बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको बैठकमा शेरबहादुर देउवालाई सभापतिमा दोहोरिन नदिनेमा उपस्थित सबै नेता एकमत भए । तर देउवासंग कसले प्रतिस्पर्धा गर्ने भन्ने पहिल्याउन सकेनन् । सबैले आ-आफ्नो दावी राख्ने र सहमतिका लागि प्रयास गर्ने ‘सहमति’ मै बैठक सकियो ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेताहरु डा. रामशरण महत, बलबहादुर केसी, सुजाता कोइराला र डा. शेखर कोइराला उपस्थित थिए । बैठकको संयोजन गरेका नेता अर्जुननरसिंह केसीले बैठकको प्रारम्भमै पार्टीभित्रको समीकरणको समिक्षा गर्दै साझा धारणा बनाउनुपर्ने बताएका थिए ।

‘हामी एक भए पार्टीमा नयाँ सन्देश जान्छ । कार्यकर्तामा पनि उत्साहन बढ्छ । फेरीपनि एकताबद्ध हुन सकेनौ भने संकट त सबैका लागि छदैछ’, केसीको भनाई थियो । उनले आफूपनि नेतृत्वको लागि आकांक्षी रहेको तर समूहबाट साझा उम्मेदवार बनाउने विषयमा लचक रहेको बताएका थिए ।

त्यसपछि सबै नेताले आफ्नो उम्मेदवारीको पक्षमा तर्क गरे । मिलेर जान तयार भएपनि ‘त्याग्न’ कोहीपनि तयार देखिएनन् । बैठकमा वरिष्ठ नेता पौडेलले विगतमा तीतामिठा जे भएपनि सहमतिको बाटो पहिल्याउनुको विकल्प नरहेको बताए । ‘अघिल्लो महाधिवेशनमै हामी मिलेको भए आज यस्तो अवस्था हुदैनथ्यो । सिटौंलाजी पनि हुनुभएन, अर्जुनजीपनि हुनुभएन । जे भयो भयो, अझै समय छ । फेरी एकपटक मैले हिम्मत गर्छु, साथीहरुले सघाउनुपर्यो’, पौडेलको भनाई थियो ।

कोइराला परिवारका तीनै जना सदस्यले बैठकमा आ-आफ्नो दावेदारी राखे । नेतृ सुजाता कोइरालाले विगतमा पनि आफूले त्याग गरेको भन्दै महिलालाई नेतृत्व दिएर इतिहास रच्ने मौका कांग्रेससामु रहेको बताइन् । महामन्त्री डा. शशांक कोइरालाले सहमतिका लागि संवाद निरन्तर राख्न सुझाए । सभापतिमा देउवालाई हराउन आफूले सक्ने भन्दै कोइरालाले सहयोगका लागि आग्रह गरे । डा.शेखर कोइरालाले देशभरका कार्यकर्ताको मनोविज्ञान बुझेर निर्णय लिनुपर्ने भन्दै आफू सबैलाई सम्मान गरेर अघि बढ्न चाहेको बताए ।

पूर्व महामन्त्री प्रकाशमान सिंहले सभापतिमा धेरै जनाको दावी भएपनि ‘ग्राउण्डको स्ट्रेन्थ’ हेरेर एकजना उम्मेदवार बन्नुपर्ने बताए । डा. रामशरण महतले एकताको लागि त्यागको जरुरी हुने भन्दै आफू मात्रै सबथोक हुँ भन्ने बिर्सेर छलफल गर्नुपर्ने बताए ।

बैठकमा सभापतिका दावेदार पूर्व महामन्त्री कृष्णप्रसाद सिटौंलाले पार्टीभित्र आफ्नो अलग समूह रहेको तथ्य बिर्सेर समीकरणको सम्भावना नरहेको बताए । विगतमा आफूले सभापतिमा प्रतिस्पर्धा गरेको र फेरीपनि दावी रहेको भन्दै सिटौंलाले देउवालाई रोक्ने भए आफ्नो भूमिकालाई नजर अन्दाज नगर्न आग्रह गरेका थिए ।

बैठकको संयोजन गरेका नेता केसीले साझा उम्मेदवार खोज्न छलफल सुरु भएको र छ्टिटै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे । ‘आज बल्ल छलफल सुरु भएको छ । मिलेर जानुपर्छ भन्ने बोध सबैमा भएको छ’ केसीले भने ।

वरिष्ठ नेता पौडेलले छलफलको सुरुआत सकरात्मक रहेको बताए । ‘हामी एक भएर जाने, जसरी पनि एउटै उम्मेदवार बनाउने भन्ने सहमति भएको छ’ पौडेलले भने ।

सभापतिमा दावी गरेका पूर्व महामन्त्री सिंहले देउवाको विकल्पमा एकजना मात्रै उम्मेदवार बनाउन छलफल सकरात्मक भएको बताए । ‘सबैले आफ्नो दावी राखेका छौं । तर पार्टीको हितका लागि मिलेर जानुपर्छ भन्ने रियलाइजेसन सबैमा भएको छ’, सिंहले भने ।

सभापतिका अर्का दावेदार डा. शेखर कोइरालाले एकजना मात्रै उम्मेदवार हुने सम्भावना बढेको बताए । ‘बाहिर हल्ला भएजस्तो असहमति हाम्रो बीचमा छैन । हामीमध्येबाट एउटै क्याण्डिडेट दिने कुरामा हामी क्लियर छौं’, कोइरालाले  भने ।

बैठकमा सबैजसो नेताले सभापति देउवालाई दोहोरिन दिनुहुदैन भन्नेमा तर्क राखे । आपसमा मिलेर जानुपर्ने आवश्यकता सबैले औल्याएँ । यद्यपी देउवासंग कसले प्रतिस्पर्धा गर्ने भन्ने टुंग्याउन सकेनन् । ‘देउवाजीलाई हरहालतमा हराउनुपर्छ भन्ने त भयो तर जिताउने कसलाई भन्ने खाका आएन । अझै धेरै छलफलको खाँचो देखिन्छ’, बैठकमा सहभागि एक नेताले भने ।