थप ३८ सय जनामा कोरोना भाइरस, ३३ जनाको मृत्यु

image आँखा संवाददाता बुधबार, श्रावण १३ २०७८
image

नेपालमा थप ३,८४० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ३३ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 

बुधवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १५,८०८ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये ४,९२२ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो। मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १,९९३ जना सङ्क्रमणमुक्त भएका छन्।

मृतकको तथ्याङ्कमा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरिदिएका शवको सङ्ख्या समाविष्ट भएको मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख ४६,००० नाघेको छ भने मृतकको सङ्ख्या ९,७९१ पुगेको छ।

सङ्क्रमण पुष्टि हुने दर वृद्धि

अहिले कुल परीक्षणको झन्डै २४.३ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले दैनिक सङ्क्रमण पुष्टि हुने दर बढेका तथा जोखिम अझै कम नभइसकेको भन्दै सबैलाई सावधान हुन आग्रह गरेका छन्। विज्ञहरूले पनि यसलाई उच्च दर मानेका छन्। 

कहाँ छन् सङ्क्रमित?

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले २९,४०० जनाभन्दा केही बढीमा सक्रिय सङ्क्रमण छ। यो विगतका सातामा भन्दा बढी भएको मन्त्रालयले जनाएको छ।

तीमध्ये झन्डै २,८०० सय जना संस्थागत आइसोलेशनमा र अन्य घरमै छन्।

संस्थागत आइशोलेशनमा सङ्क्रमितमध्ये अहिले ६११ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १६८ जना भेन्टिलेटरमा छन्।

डा. अधिकारीका अनुसार गण्डकी प्रदेशमा जाँचिएका नमुनामा सङ्क्रमण पुष्टि हुने दर ६२ प्रतिशतभन्दा बढी छ।

अहिले कास्कीमा ३१६ जनामा कोभिड पुष्टि भएको हो। त्यसैगरी झापामा १९४, मोरङमा १८९, सुनसरीमा १७६ र चितवनमा १८५ जना सङ्क्रमित फेला परेका छन्।

मन्त्रालयको तथ्याङ्कअनुसार काठमाण्डूमा ५,८१५ जना, ललितपुरमा १३०१ जना र भक्तपुरमा १,०१६ जना गरी उपत्यकामा कुल ८,१३२ जनामा सक्रिय सङ्क्रमण छ।