युरोकप २०२० : नेदरल्यान्ड्सको रोमान्चक जित , अक्रो खेलमा अष्ट्रिया बिजयी

image आँखा संवाददाता सोमबार, जेष्ठ ३१ २०७८
image

एजेन्सी । नेदरल्यान्ड्सले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा युक्रेनलाई ३-२ गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले सुखद सुरुवात गरेको हो ।

आम्स्टरडामस्थित जोहन क्रुफ एरिनामा नेदरल्यान्ड्सलाई जित दिलाउन जर्जिनियो विनाल्डम, वाउट वेगहोर्स्ट र डेन्जल डम्फ्राइजले एक एक गोल गरे । युक्रेनका एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एक एक गोल फर्काए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेदरल्यान्ड्सले सुरुवाती अग्रता बनाएको थियो । खेलको ५२ औं मिनेटमा कप्तान विनाल्डमले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए । ५९ औं मिनेटमा वेगहोर्स्टले गोल गर्दै नेदरल्यान्ड्सलाई २-० को अग्रता दिलाए ।

दुई गोलले पछि परेपनि युक्रेनले उत्कृष्ट पुनरागमन गर्यो । खेलको ७५ औं मिनेटमा यार्मोलेन्कोले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

खेलको ७९ औं मिनेटमा युक्रेनका रोमनले गोल गरेपछि खेल २-२ को बराबरीमा पुग्यो । तर, खेलको ८५ औं मिनेटमा डम्फ्राइजले गोल गर्दै नेदरल्यान्ड्सलाई ३-२ को जित दिलाए ।

उनको यो पहिलो अन्तराष्ट्रिय गोल समेत हो । यस जितसँगै समूह 'सी' को नेदरल्यान्ड्सले महत्वपूर्ण ३ अंक जोडेको छ ।

नेदरल्यान्ड्स समूहको दोस्रो स्थानमा रहेको छ । ३ अंक जोडेको अष्ट्रिया शीर्ष स्थानमा रहेको छ । युक्रेनले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । युक्रेन तेस्रो स्थानमा रहेको छ ।

अष्ट्रियाको ऐतिहासिक जित

अष्ट्रियाले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । रोमानियाको बुचारिस्टमा आइतबार राति नर्थ म्यासेडोनियालाई ३-१ गोल अन्तरले पराजित गर्दै अष्ट्रियाले सुखद सुरुवात गरेको हो । 

अष्ट्रियालाई जित दिलाउन स्टेफान लेनर, माइकल ग्रेगोरिट्स र मार्को आर्नोटोभिकले एक एक गोल गरे । म्यासेडोनियाका गोरान पाण्डेभले एक गोल फर्काए ।

खेलको १८ औं मिनेटमा स्टेफानले गोल गर्दै अष्ट्रियालाई सुरुवाती अग्रता दिलाएका थिए । मार्सेलको पासमा उनले गोल गरेका थिए ।

तर,२८ औं मिनेटमा गोरानले गोल गर्दै म्यासेडोनियालाई १-१ गोलको बराबरीमा फर्काए । उनले अष्ट्रियाका गोलकिपर डानिलले फुत्काएको बलमा गोल गरेका थिए ।

यससँगै गोरान युरोकपमा गोल गर्ने दोस्रो सर्वाधिक बढी उमेरका खेलाडी बनेका छन् । उनले ३७ वर्ष २२१ दिनमा गोल गरेका हुन् । म्यासेडोनियाको यो युरोकपमा गरेको पहिलो गोल समेत हो ।

खेलको ७८ औं मिनेटमा माइकलले गोल गर्दै अष्ट्रियालाई २-१ को अग्रता दिलाए । उनले कप्तान डेभिड अल्बाको पासमा गोल गरेका हुन् ।

त्यसपछि खेलको ९० औं मिनेटमा लेइमरको पासमा मार्कोले गोल गर्दै अष्ट्रियालाई ३-१ को जित दिलाए । युरोपियन च्याम्पियनसिपमा अष्ट्रियाको यो ऐतिहासिक पहिलो जित हो । यस अघि अष्ट्रियाले जित निकाल्न सकेको थिएन ।

यस जितसँगै समूह 'सी' को अष्ट्रियाले महत्वपूर्ण ३ अंक जोडेको छ । अष्ट्रिया समूहको शीर्ष स्थानमा रहेको छ । म्यासेडोनियाले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

ad