नेपाली राजदूतलाई कोभिड –१९ विरुद्धको स्वास्थ्य सामग्री जुटाउने प्रयासमा लाग्न निर्देशन

image आँखा संवाददाता आइतबार​, जेष्ठ २ २०७८
image

काठमाडौँ । सरकारले विभिन्न मुलुकमा सेवारत नेपाली राजदूतलाई कोभिड –१९ विरुद्धको खोप, औषधि र अन्य स्वास्थ्य सामग्री सहयोगस्वरुप जुटाउने प्रयासमा लाग्न निर्देशन दिएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले १३ देशका नेपाली राजदूतसँगको अप्रत्यक्ष बैठकमा खोप, चिकित्सा अक्सिजनसँग सम्बन्धित वस्तु, औषधि र अन्य स्वास्थ्य सामग्री अन्तरराष्टिय सहायतास्वरुप नेपालका निम्ति जुटाउन निर्देशन दिएको परराष्ट मन्त्रालयले जनाएको छ ।

महामारीका कारण उत्पन्न संकट तथा मुलुकको वर्तमान आवश्यकतालाई दृष्टिगत गरी द्विपक्षीय र बहुपक्षीय तहका साथै परोपकारी संस्था, निजी क्षेत्र एवं प्रवासी नेपालीबाट सहायता जुटाउनका लागि अधिकतम प्रयत्न गर्न उनले निर्देशन दिए ।

सहयोग प्राप्ति र परिचालनका अन्य सम्भावनाको खोजी गर्न पनि मन्त्री ज्ञवालीले निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

उनले विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हितलाई उच्च प्राथमिकतामा राखेर काम गर्न पनि निर्देश गरे ।

त्यसअघि मन्त्री ज्ञवालीले महामारीसँग जुध्न सरकारले गरेका प्रयासबारे जानकारी गराएको तथा राजदूतले सहयोग परिचालनमा भएका प्रयास र उपलब्धिबारे उनलाई अवगत गराएका थिए ।