झापामा कोरोनाको संक्रमण दर घट्दै

image आँखा संवाददाता आइतबार​, जेष्ठ २ २०७८
image

झापा , जेठ २ । विगत केही दिनदेखि झापामा कोरोनाको संक्रमण दर घट्दै गएको छ ।प्रशासनले निषेधाज्ञामा कडाइ गरेपछि संक्रमण घट्दै गएको हो । शनिबार १९७ जनामा संक्रमण पुष्टि भएको थियो ।

आइतबार भने कुल संक्रमितको संख्या ९९ रहेको छ । पीसीआरतर्फ ६१ जना र एन्टिजेन परीक्षणबाट ३८ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि बिहीबार २७६ जनामा संक्रमण पुष्टि हुँदा ५ जनाको मृत्यु भएको थियो ।

त्यस्तै, शुक्रबार घटेर २१३ जनामा संक्रमण पुष्टि भएको थियो भने एक जनाको मात्र मृत्यु भएको थियो ।संक्रमण दर घट्दै जाँदा निको हुनेको संख्या पनि बढ्दै गएको छ । बिहीबार ३३ जना निको भएका थिए भने शुक्रबार २८ र शनिबार ५७ जना निको भएका थिए ।

आइतबार ३७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।आंशिक निषेधाज्ञा हुँदा यसअघि संंक्रमण दर ३ सयभन्दा माथि थियो भने मृत्यु दर ८ जनासम्म पुगेको थियो ।पछिल्लो २४ घण्टाभित्र झापामा मात्र ९९ जनामा संक्रमण पुष्टि हुँदा ३७ जना महिला रहेका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार पीसीआरतर्फ २१ महिला र ४० पुरुष, तथा एन्टिजेनतर्फ १६ महिला र २२ जना पुरुषमा संक्रमण भएको हो ।सबैभन्दा बढी हल्दिबारी गाउँपालिकामा २४ जना रहेका छन् । जसमा ५ महिला र १९ जना पुरुष छन् ।

दमकमा ११ महिलासहित १९ जना, कमलमा २ महिलासहित ७ जना, मेचीनगरमा ३ महिलासहित १० जनामा संक्रमण पुष्टि भएको छ ।यस्तै, बिर्तामोडमा ४ महिलासहित १२ जना, अर्जुनधारामा ४ महिलासहित ६ जना, भद्रपुरमा १ महिलासहित ५ जना, शिवसताक्षीमा २ महिलासहित ५ जना, कचनकवल र कनकाईमा १–१ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

योसँगै कुल संक्रमितको संख्या ७६१६ रहेको छ भने निको हुनेको संख्या ४८४७ रहेको कोभिड फोकल पर्सन जीवन चौंलागाईले जानकारी दिएका छन् । यस्तै, विभिन्न आइसोलेसनमा २६०४ जनाको उपचार भइरहेको छ ।