झापामा निषेधाज्ञा उल्लंघन गर्ने ५३६ सवारी कार्वाहीमा

image आँखा संवाददाता सोमबार, बैशाख २० २०७८
image

झापा , बैशाख २० । दोस्रो लहरमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम गर्न जिल्ला प्रशासन कार्यालय झापाले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्ने ५ सय ३६ वटा सवारी साधन कार्वाहीमा परेका छन् ।

निषेधाज्ञा उल्लंघन गरेर सडकमा कुदाउने सवारी साधन प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो । निषेधाज्ञा उल्लंघन गरी चलाउने ६२ वटा चार पांग्रे र ४७४ वटा दुई पांग्रे सवारी साधनलाई कार्वाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

निषेधाज्ञाको पहिलो दिन सोमबार जोर नम्बर भएका सवारीलाई मात्र चलाउन दिने भनिएकोमा बिजोर नम्बरका सवारी चलाउनेहरुलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक निशेच चापागाईले बताए ।उनले पहिलो दिन भएकाले बेलुका ५ बजेसम्म होल्ड गरेर छोडिएको जानकारी दिए ।

उता निषेधाज्ञा उल्लंघन गर्ने ३ सय १२ वटा सवारी साधन मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधाज्ञाको उल्लंघन गरी विभिन्न स्थानमा लुकिछिपी अवैध रूपमा मानिसहरू ओसारपसार गर्ने २ पांग्रे, ३ पांग्रे र ४ पांग्रे सवारी साधन नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।

प्रशासनको अनुमति नलिई चलाएका १५५ वटा मोटरसाईकल, १०७ वटा सिटी सफारी, ३४ वटा अटो, ६ वटा ट्रयाक्टर, ३ वटा म्याजिक र एउटा माईक्रो १ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।