झापाली जनस्तरको अभियान :  चारसय अक्सिजन सिलिन्डर  र एक्सरे मेसिन खरिद गरिँदै  

image आँखा संवाददाता आइतबार​, जेष्ठ २ २०७८
image

झापा २ जेठ।

पहिलो लहरको कोरोना महामारीमा एक करोड बढी खर्चेर पिसीआर ल्याब स्थापना गरेको एकका लागि एक अभियानले यसपटक अक्सिजन सिलिन्डर बैंक स्थापना अवधारणा अघि सारेको छ ।

झापाली जनस्तरको सर्वाधिक सफल यो अभियानले  ‘एक व्यक्ति एक सिलिन्डर’ को अवधारणा अघि सारेको हो । अक्सिजन नपाएर कोही मर्नु नपरोस् भनेर अभियान सुरु गरेको पहिलो दिन नै अढाई सय बढी अक्सिजन  सिलिन्डर खरिदका लागि नगद सहयोग गर्ने  प्रतिबद्धता जुटेको छ ।

 # ककसले गरे प्रतिबद्धता :- भर्चुअल प्रविधि मार्फत सुरु गरिएको अभियानमा मुख्य साझेदार संस्था सहारा नेपालले एकसय थान सिलिन्डर किन्ने रकम उपलब्ध गराउने भएको छ । सहाराका कोषाध्यक्ष डम्बर देउजाले त्यस्तो प्रतिबद्धता जनाएका हुन् । अन्तर्राष्ट्रिय झापाली समाजले पनि  एकएक सय थान अक्सिजन सिलिन्डर खरिदका लागि आवश्यक पर्ने रकम प्रदान गर्ने संरक्षक दिनेश पोखरेल प्रतिबद्धता जनाए ।

समाजले गत वर्ष पिसीआर ल्याब स्थापना गर्न २५ लाख रुपैयाँ उपलब्ध गराएको थियो । पहिलो चरणमा चार सय वटा अक्सिजन सिलिन्डर खरिद गर्ने योजनामा रहेको अभियानलाई अस्ट्रेलियाको किंग्सटन इन्स्टिच्युटले १० थान सिलिन्डरबापतको नगद सहयोग उपलब्ध गराउने प्रतिबद्धता सो   इन्स्टिच्युटका सञ्चालक दिपक खनालले  जनाएका हुन् ।

त्यस्तै,नेपाल शैक्षिक परामर्श संघ झापा १० वटा, छठ सेवा समिति बिर्तामोड, रोटरी क्लब अफ बिर्तामोड र रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानले पाँच/ पाँच  थान सिलिन्डरको प्रतिबद्धता जनाएका छ्न्। छठ समितिका अध्यक्ष राजकुमार गुप्ता, रोटरीका अध्यक्ष निर्मल भट्टराई र प्रतिष्ठानका तर्फबाट महासचिव गोपाल ओलीले त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।

यसैबीच, एमालेको झापा–काठमाडौँ सम्पर्क मञ्च क्षेत्र नम्बर ४ ले सिलिन्डर खरिदका लागि नगद ५१ हजार रुपैयाँ सहयोगको प्रतिबद्धता जनाएको छ । मञ्चका अध्यक्ष सुनिल भेटवालले  सो  प्रतिबद्धता जनाएका हुन् । अभियानलाई व्यक्तिगत रुपमा पनि सहयोग प्राप्त भइरहेको छ । अभियानको सचिवालयका  ९ जनाले सिलिन्डरबापतको १५ हजार रुपैयाँका दरले सहयोग गरेका छन् ।

शनिश्चरे पूर्व विद्यार्थीले दुईवटा सिलिन्डर बराबर, पत्रकार गणेशमान मुखिया,अमेरिकामा रहेकी टीका तिवारीले एक, एक सिलिन्डर बराबरको रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।  धर्मराज गिरी, कोरिया र पोर्चुगलमा रहेका नेपालीले सिलिन्डर बैंक स्थापनाका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले बताए ।

झापामा पनि अक्सिजन सिलिन्डर अभाव हुने संकेत देखिएपछि कोरोना  अभियान अक्सिजन बैंक स्थापना गर्न जुटेको हो । तत्कालका लागि  पहिलो चरणमा चार सय थान अक्सिजन सिलिन्डरको खरिद प्रक्रिया अघि बढाइएको छ ।अभियानसँग १५ लाख रुपैयाँ बचत रहेको  सोही रकमबाट सिलिन्डर खरिदको प्रक्रिया अघि बढाइएको  सहसंयोजक विनोद बस्नेतले जानकारी दिए ।

४०० थान सिलिन्डरका लागि लागभग ६० लाख लाग्नेछ । अहिले सो रकम अभियानको नेतृत्वकर्ताले उपलब्ध गराएर पछि फिर्ता गरिने बताइएको छ । सिलिन्डर  ४८ लिटर क्षमताका हुने छन् । अभियानले चीनबाट सिलिन्डर ल्याउन प्रक्रिया अघि बढाउन व्यवसायी नवीन गट्टानीलाई जिम्मेवारी तोकिएको छ ।


# यस्तो छ अरु कार्यक्रम :-अभियानले दोस्रो चरणमा अक्सिजन बैंक स्थापनासँगै एक्सरे मेसिन खरिद, डाक्टर परामर्श सेवा र कोभिड संक्रमित विपन्न परिवारहरुका लागि खाद्यान्न सहयोग कार्यक्रम सञ्चालन गर्ने छ। एक्सरे मेसिनका लागि झापा जिल्ला सहकारी संघले एकमुष्ट २५ लाख रुपैयाँ उपलब्ध गराउने संघका अध्यक्ष गणेश ढकालले घोषणा गरे ।

उनले एक्सरे मेसिन सञ्चालन खर्चका लागि थप पाँच लाख उपलब्ध गराउन तयार रहेको अध्यक्ष ढकालले भर्चुअल छलफलमा बताए । संघले पिसीआर ल्याब स्थापना गर्न २५ लाख उपलब्ध गराएको थियोे ।  एक्सरे मेसिन  पिसीआर ल्याब रहेकै कनकाईको समर्पण भवनमा राखिने योजना छ । सहकारी संघले १ करोड रुपैयाँको व्यवस्थापन गर्ने जिम्मेवारी लिने बताए ।            

#  छ लाखको समान वितरण :-  सोही योजना अन्तरगत आइतबार झापा जिल्ला  सहकारी संघले ६ लाख रकम बराबरको स्वास्थ सामाग्री झापाका  प्रमुख जिल्ला अधिकारी  श्रवणकुमार तिम्सिनालाई  हस्तान्तरण गरेको छ ।

तीनवटा सुरक्षा निकाय ( नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी) लाई उपलब्ध गराउने गरी  पीपीइ सेट, मास्क, सेनिटाइजर, हेन्ड्ग्लोब्स, सेफ शिल्ड लगायतको समान रहेको संघका सचिव भवानीप्रसाद दङ्गाल ( भानु)  बताए । संघका अध्यक्ष ढकाल नेतृत्वको टोलीले सो समान हस्तान्तरण गरेको हो ।

गत वर्षको २०२० को मे १ तारिखबाट सुरु भएको अभियानले पीसिआर ल्याब स्थापना गरेपछि झापा लगायत साविक मेची अञ्चलबासीको कोरोना परीक्षणमा सहज भएको छ। यसपटकको अभियानबाट पनि ठूलो स्वास्थ्य उपलब्धि हासिल हुने विश्वास लिइएको छ।

ad