‘भ्रष्टाचारमुक्त नेपालका लागि नागरिक एप’

image आँखा संवाददाता सोमबार, बैशाख २० २०७८
image

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले भ्रस्टाचारमुक्त नेपाल निर्माणका लागि सरकारले सूचना प्रविधिलाई प्राथमिकता दिइरहेको बताएका छन् ।

आइतबार आयोजित राष्ट्रिय सञ्चार तथा सञ्चार प्रविधि दिवस एवं नागरिक एपको औपचारिक सार्वजनिक समारोहमा बोल्दै मन्त्री गुरुङले देशलाई भ्रष्टाचारमुक्त बनाई पारदर्शी, सुशासनयुक्त बनाउन र परम्पारगत झन्झटिलो प्रक्रिया हटाई पेपरलेसबाट सरकारका कामकाज गराउन सर्वसाधारणका लागि नागरिक एप ल्याइएको बताए ।

उनले अफलाइनबाट नभई अनलाइनबाट सरकारी सेवा दिने गरी काम भइरहेको जनाए । साथै उनले ‘समृद्ध नेपाल र सुखी नेपाल’ को अभियानलाई सफल बनाउन सूचना प्रविधि क्षेत्रमा जोडिन आवश्यक रहेको भनाइ राखे ।

‘डिजिटल नेपालको फ्रेमवर्क नेपालको गेम चेन्जरको रुपमा रहेको छ । यसका नीतिगत पक्ष, संरचना, निर्देशिकाअनुरुप कार्यान्वयन अघि बढाइनेछ,’ उनले भने, ‘अब विकासका पूर्वाधारमा सडक, पुल, सिचाईं मात्रै होइन, सञ्चार र सूचना प्रविधिको पूर्वाधार पनि छ भन्ने कुरा बुझ्नुपर्छ । यो क्षेत्रलाई नजोडिकन सुखी नेपाली र समृद्ध नेपालको अभियान पुरा हुँदैन ।’