"कुट्ने हो ?  नर्स र डाक्टरलाई"

image रमेश कुमार सुवेदी शनिबार, जेष्ठ १५ २०७८
image

            "कुट्ने हो ?  नर्स र डाक्टरलाई"

कुट
चिथोर
ङ्याक
हिर्काउ
लात्तै,लात्ताले
भकुर,
यति मात्रै
नगर न !
ए मेरा बहादुर
रिसाहा
झन्काहा
शन्काहा
फन्काहा
आवेगि
पटमुर्खे
काइते बक्सर हो!
काट
मार
राष्ट्रिय हिरोले सम्मान पाएका
डाक्टर र नर्सलाई।१।

तिमीहरुले
न नेल नै लगाउनु पर्छ
न त जेलनै जानु पर्छ,
आजीवन काराबासको सजाय पाएको
ज्यानमारालाई रिहा गर्न
हत्यारालाई सम्मान गर्न
राजनैतिक  संस्कारको इतिहासले
राष्ट्रिय हिरो बनाएकै छ
त्यसैले  न नेल न जेल
कर्मशील डाक्टर र नर्सलाई
घाटी अंट्ठियाएर दिनुपर्छ
मुड्की र लात्तीको पेलाम पेल।२।

ए!
गणतन्त्रका नाममा
जे पनि गर्न पल्केका
अबुझ स्वांठहरु!
मज्जाले चिथोर,ङ्याक
लात्ता लात्तैले भकुर
हाम्रो उपचार गर्ने
डाक्टर र नर्सलाई
तिमिलाई त के छ र
भाषण बाट आएको
वेसार र अम्बाको पातले
उपचार पुगेकै छ
तेहि खाउ,
उपचार गराउ
ज्यान बचाउ
न तिमीलाई
डाक्टर चाहिन्छ
न नर्स चाहिन्छ
त्यसैले
मज्जाले
चिथोर, ङ्याक
ति डाक्टर र नर्सलाई।३।

ए!
सुबिधा खोज्ने,कर्तव्य बिर्सने
मान्छेको बिराट स्वरुपे पशु
तिमिलाई के थाहा?
तिमिलाई के ज्ञान ?
यिनै हुन,
आजका भगवान
तिमी भाषणमा जुलुसमा
"हामी यहा छौ"को भेलामा
ताली र गालीले स्वागत गरेको बेलामा
तिम्रै आफन्त, नातागोतालाई
स्याहारसुसार गर्न तम्सने
नर्स र डाक्टर  नै थिए
यि न जुलुसमा डुले
न सभामा हिडे
आफ्नो कर्तब्यमा
रमाउदै , रमाउदै
हाम्रै उपचारमा भिडे।
त्यसैले
रहर पुग्नेगरी
आवेग सान्त हुनेगरी
न्यायलाई मुड्कीको भरमा
धुस्नु हुनेगरी अन्यायले मार
कुट, हिर्काउनु रहर पुग्नेगरी
न्याय त सोत्तर होस,
अन्यायले राज गर्ने गरी ।४।

तिमी सिल्ली छौ
इलम नै नगरी,
मन्त्री बन्ने तिम्रो दाउ छ।
इतिहास हेर्दा यस्तैको धेरै भाउछ
ईमान जमान हुनेहरूलाई
मुङ्ग्रो, र गाली छ
यस्तै छ यहा
जाली फटाहा,धुन्दुकारीको
रजगज  सहितको हालीमुहाली छ।५।

तिमी र
तिम्रा मुक्केबाजले
"हामी यहा छौ" भन्नेलाई
कुर्सी खोज्ने राष्ट्रबादी लाई
भिड नगरौको चेतावनीलाई
लत्याएर,अवज्ञा गरी
जुलुस निकाल्ने अग्रगामीलाई
आमसभा गर्ने राष्ट्रप्रेमीलाई
मात्र!मात्र!!
कोभिडको उपहार सहितको
जुलुस,आमसभा,भाषण
कुनै नेपालीलाई चाहिदैन!
आंखा कुर्सीमा हैन, इन्जेक्सनमा
राहत भाषणमा हैन, स्वास्थ्यमा
बस, यत्ति भन्दै
औंला ठड्याएको भए
आज तिमी हिरो हुन्थ्यौं
कुलङ्गार हैन, राष्ट्रिय सपुत हुन्थ्यौं
नेता ठाउमा आउथे
जनताले कम्तिमा स्वास्थ्यमा
राहत  त पाउंथे।
कम्तीमा राहत त पाउथें।
         
              "अस्तु"
             रमेश कुमार सुवेदी- भद्रपुर--७ झापा।