खेल भित्र अर्को खेल, खेलाडी भित्र अरु खेलाडी

image
image ‐चिन्तामणि दाहाल १९ दिन अगाडी

प्रतिनिधि पुनस्र्थापना भयो । पुनस्र्थापना भएको पनि दुइ महिना भइसक्यो । सर्बोच्च अदालतको फुल बेन्चले एकमतले प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर गर्यो । तर, पनि नैतिकताको आधारमा ओलीले राजिनामा दिएनन् । दिन्छन् भन्ने धेरैलाई लागेको थियो ।

ओलीकै केही समर्थकले पनि राजिनामा दिन सुझाएको सुनियो । उनले पनि एकमन राजिनामा दिन सोचेका थिए । तर, पनि ओलीले आफैलाई पनि मानेनन् भने अरुले दिएको सुझाव र सल्लाह पनि मानेनन् । 

जीवनको उत्तरार्धमा पुगेका ओलीले राजनैतिक नैतिकताको संस्कार देखाएर उदाहरण बन्नु पर्ने बेलामा किन एकाएक पछि हटेर कुनै हालतमा पनि राजिनामा नदिने भन्न थाले भन्नेतर्फ सोच्नु पर्ने वेला भएको छ । 

को हो खेलाडी ?
पहिलो खेलाडी स्वयम ओली नै हुन् । उनले सकेभने र जनताले पत्याउँदै गएभने आजीवन प्रधानमन्त्री बन्न चाहेका छन् ।  त्यसैले राजीनामा नदिने र दिनै परे अर्को सरकार गठन गर्न नदिने तिकडम गर्ने जो कि अहिले मधेशी दललाई बझाएर त्यसको राजनैतिक बातावरण तयार पार्ने प्रयास भइरहेको छ  । त्यसैगरी क्रमश सबै शक्तिको श्रोत आफ्नै हातमा राख्ने काम गतबर्षदेखि नै ओलीले गरिरहेका छन् ।

सत्ताको स्वाद भनेको बाघको जिब्रोमा रगत दलिनु जस्तै हो । भनिन्छ बाघको मुख जुन प्राणीको रगतले लतपतिन्छ उसले त्यही प्राणीको शिकार गर्न खोजिरहन्छ भनेझै ओलीको जिब्रोमा सत्ताको रगत लतपतिएको छ । त्यसलाई उनकै पार्टीका माधब‐खनाल पक्षले आक्रोशित बनाएर अझ हिंस्रक बनाइदिएका छन् । यसैले यस खेलमा स्वयम ओली नै मुख्य पात्र हुन् भन्ने विश्लेषण पनि निकाल्न सकिन्छ । काम आफू गर्ने दोष अरुलाई दिने भन्दा जो अघि देखिन्छ उ नै मुख्य दोषी किन नमान्ने भन्ने अहम सवाल हो । 

जे होस् ओलीलाई पछिल्लो पटकको गद्दीले पहिलाको भन्दा जिद्दी बनाएको छ भने हठी पनि बनाएको छ । अहिले ओली जे बोल्छन् उनका आसेपासे र कट्टर समर्थकले त्यसैमा हो मा हो मिलाएर नांगो सम्राटको कथालाई चरितार्थ बनाइरहेका छन् । जुन दिन सत्य बोल्ने बालकलाई ओलीले भेट्दैनन् तबसम्म उनी नांगै हिंडीरहन्छन् । किन कि उनलाई आफू नांगो भएको थाहा नै छैन ।

अरु खेलाडी  
राजनीतिमा बास्तविक खेलाडी बाहिर नदेखिन पनि सक्छ । भित्र भित्रै गाटी चालेर प्यादालाई अघि सार्छ र आफूले त्यसको स्वाद लिन्छ । कतिपय अवस्थामा खेलाडी बाहिरै देखिएको हुन्छ र खेल पनि आफैं खेलिरहेको हुन्छ । तर अरुले नपत्याएर उसलाई अरुले नै उचालेका हुन् भनेर भ्रम पालिरहेका हुन्छन् । 

तर, ओलीको हकमा यो त्यति मिलेजस्तो लाग्दैन । उनी खेल त आफैं खेलिरहेका छन् । तर, उनलाई शक्ति दिने पात्र देश बाहिरका छन् भन्न थालिएको छ । उनले एमसिसी पारित गर्न देखाई रहेको व्यग्रताले एउटा संकेत गरेको छ भने त्यसलाई प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापतिले समर्थन गरेर थप पुष्टि गरेका छन् ।

एमसिसी संसदबाटै पारित गर्नु पर्ने शर्त र त्यसमा भारतीय स्वकृतिको कुराले अर्कै अर्थ बोक्छ । भनिन्छ भारत नेपालले चुच्चे नक्सा संविधानको अनुच्छेदमै राखेर भारतसँग जमिन फिर्ताको कुरा उठाएयता ओलीलाई भारतले सत्ताबाट झार्न खोजेको छ । तर, अमेरिकाले ओलीलाई वचाउन खोजेको छ । यसलाई देउवाले साथ दिएका छन् । त्यसैले देउवा ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन चाहिरहेका छैनन् । जब प्रचण्ड र खनालहरु एमसिसिप्रति नरम हुन्छन् तब देउवाले ओलीलाई किनारा लगाउँछन् भन्ने पनि छ । खेलको जालो जेलिएको जेलिएै छ । 

अर्कातिर जनता समाजवादी पार्टीको एउटा खेमा ओलीको पक्षमा छ भने अर्को पक्ष विपक्षमा । उपेन्द्र यादब र डा.बाबुराम भट्टराई ओलीको पिक्षमा हुँदा महन्थ ठाकुर,लक्ष्मण अर्याल र राजेन्द्र महतो ओलीको पक्षमा देखिएका छन् । यस पार्टीको खेल पनि अचम्भको छ । उनीहरु बास्तबमै दलको स्वार्थमा हुन् कि उनीहरु पनि कसैको प्यादा भएका छन् भन्न खोजीकै विषय छ । भारतप्रति नरम भएको जसपा भारतविरोधी ओलीको पक्षमा किन लागिरहेको छ भन्ने बुझ्न छुट्टै पाथी पढ्नु पर्छ । 

जे होस् ओली देश बाहिरको शक्तिको सहयोगमा सत्ता छाड्न तयार छैनन् भन्ने अर्को विश्लेषण हो । अहिले पंक्तिकारको तर्क र विश्लेषण यस्तो भएपनि यसलाई अहिले नै प्रमाणित गर्न सकिन्न । समयले यसलाई प्रमाणित गर्छ नै । समय बलवान हुन्छ । अहिले समयले ओलीलाई साथ दिएको छ । उनी सच्चा राष्ट्रवादी भएर सत्ता लम्ब्याउन सफल भइरहेका छन् । समयले ओलीलाई साथ छोड्ने वित्तिकै नयाँ खेलाडी आउँछन् । हेर्दै जाउँ, खेल्दै जाउँ ।

‐चिन्तामणि दाहाल
   

ad