राधिका शाक्यको अनुभूतिमा ओलीलाई नियाल्दा

image
image आँखा संवाददाता २२ दिन अगाडी

मेरा औंलाहरू यतिबेला किबोर्डका बटनमा अडिएका छन् । सामुन्नेमा छ एउटा पुस्तक, जसलाई हेरेर दुविधाजन्य मोडमा टोलाइरहेको छु । भर्खरै पढिसिध्याध्याएको त्यो पुस्तकले घोत्लिन बाध्य बनाएको छ । राजनीतिमा ‘रुचि नराख्ने’ तर वर्तमान राजनीतिक घटनाक्रम नजिकबाट नियालिरहेकी एक महिला, जसले आफ्ना जीवनका उर्जाशील समय त्याग र समर्पणमा बिताइन् ।

तीनै महिला हुन्, राधिका शाक्य । प्रधानमन्त्री केपी शर्मा ओलीको जीवनसंगिनी शाक्यले भर्खरै आफ्नो संस्मरणात्मक पुस्तक ‘मेरा अनुभूति’ प्रकाशन गरिन् । हुन त यसमा उनका निजी अनुभूति निकै कम पाइन्छन् । प्रत्येक अनुभूति केपी शर्मा ओलीसँग सम्बन्धित छन् । पुस्तककी लेखक राधिका शाक्य भए पनि यसमा समेटिएका अनुभूति ओली र शाक्यका संयुक्त हुन् भन्दा अतिशयोक्ति नहोला ।

द्धिविधा यसअर्थमा कि, लेखनका शिल्पबारे प्रशस्त प्रश्न छन् मसँग । निर्धक्कसँग भन्दा एउटा पुस्तकप्रेमी पाठकलाई यो पुस्तक पढ्दा भाषा ‘टर्रो’ लाग्न सक्छ ।

पुस्तकको रुपमा लेखकको सफलता, असफलता वा प्रयासबारे मापन गर्ने एउटा पाटो त छ नै । यद्यपि, एउटा महिलाको त्याग र संघर्षलाई नजरअन्दाज गर्नचाहिँ कदापी मिल्दैन । आजका प्रधानमन्त्री ओली यो स्थानसम्म आइपुग्न राधिका शाक्यको त्यागलाई इतिहासले बिर्सनुहुँदैन ।

प्रधानमन्त्री ओलीका केही कदमसँग वैचारिक असहमति पक्कै छन् । यसमा एकपक्षीय दृष्टिकोण हुन पनि सक्लान् । अथवा देशको कार्यकारीसँग असन्तुष्टि र गुनासाहरू हुनु स्वभाविक पनि हो । तर, कठोर जेल यातना र स्वास्थ्य संघर्षका बाबजुद नेपालको राजनीतिमा उनले पुर्‍याएका योगदान इतिहासका गर्तमा पुरिन दिनुहुन्न ।

कतिपयलाई सन्देह छ- ओलीलाई ‘हिरो बनाउन’ शाक्यले पुस्तक लेखेकी हुन् । पुस्तकमा कतै शाक्य पूर्वाग्राही पनि देखिन सक्छिन् । तर, उनको निजी जीवनका सन्निकट पात्र हुन्, ओली । उनको ज्ञान र चेतनालाई अन्तस्करणबाट नियाल्ने उनै शाक्य हुन् । आफूले देखेको, भोगेको र साक्षी बसेको क्षणलाई अनुभूतिमा साट्दा संस्मरणका ‘ओली’ पात्रमा नायकत्व देखिनु स्वभाविक हो ।

उसो त उनी ओलीको ज्ञान र बौद्धिकताबाट प्रभावित छिन् । ओलीका ज्ञान र बौद्धिकतकाबारे बेला-बेलामा टिका–टिप्पणी पनि हुने गर्छन् । सार्वजनिक समारोह वा अन्तर्वार्तामा उनी केही न केही नयाँ तथ्य र विषयबारे बोलिरहेका हुन्छन् ।

शाक्य ओलीको विद्धताको मुक्तकण्ठले प्रशंसा गर्छिन् । ‘उहाँसँग आज कागजमा लेखिएको प्रमाणपत्र त छैन, तर मै हुँ भन्ने व्यक्तिसँग उहाँले विभिन्न विषयमा गरेका विमर्शले ज्ञान कागजमा हुनु र मतिष्कमा हुनुको भेद महसुस गर्न पाइन्छ । हरेक विषयमा गहिराइसम्म उहाँको पकड मैले महसुस गरेकी छु । उहाँसँग हरेक विषयमा ज्ञानको अपार भण्डार छ,’ पृष्ठ ३ मा उनले लेखेकी छन् ।

महिलाको त्याग र संघर्षको बिम्ब
राधिका शाक्यका त्याग त्यसदिनबाट सुरु हुन्छ, जुन दिन उनी केपी ओलीसँग वैवाहिक जीवनमा बाँधिइन् । जतिबेला ओली स्वयम्‌को भविष्य अन्धकार थियो । तर, दृढ संकल्पका साथ उनले ओलीसँग बिहे गरिन् २०४४, फागुनमा ।

उनले यसलाई आफूले लिएको जीवनकै साहसिक निर्णय मान्छिन् । ‘शैशवास्थामा मातृवियोगले, किशोरावस्थामा अन्याय र अत्याचार विरोधी संघर्षले जीवनका आधार समयहरू त्रासद् यातनाले जर्जर बनेको एउटा कुपोषित मानिसलाई प्रेमले पोषित गरेर हुर्काउने संकल्प मैले गरेँ,’ पृष्ठ १३ मा उनले लेखेकी छन् ।

केपी ओली धेरैपटक मृत्यु शय्याबाट फर्किएका छन् । कयौंपटक अस्पतालमा बेडहरूमा उनलाई आशा मारिएका कथा शाक्यका स्मृतिमा जीवित छन् । ‘म काठमाडौं खाल्डोमा जन्मी हुर्किएकी एक साधारण मानिस हुँ । विवाहपछि उहाँको स्वास्थ्योपचारका लागि देश बाहिरका धेरै ठाउँमा पुगें । ती अञ्जान ठाउँमा त्यस क्रममा कैयन् पटक रोएकी छु, कैयन् पटक उहाँलाई माया मारेकी छु । आफ्ना बेदनाका पहिरोहरू थाम्दै उहाँको जीवन र मृत्युको पातलो दोसाँधमा उभिएकी छु,’ उनले पुस्तकमा लेखेकी छन् । ओली रोगग्रस्तमा हुनु, १४ वर्षको जेल बसाइ र त्यतिबेलाका कष्टकर यातना जिम्मेवार छन् ।

निरंकुश पञ्चायतविरुद्ध उनीहरूले झापा विद्रोह सुरु गरेका थिए । झापा विद्रोहको क्रममा ओली २०३० साल असोज २३ गते रौतहटबाट गिरफ्तारीमा परे । २०३० साल असोज २३ गतेदेखि मंसिर ३ सम्म पर्सा जिल्लाको गौर चौकी र गुल्ममा राखी उनलाई शारीरिक र मानसिक यातना दिइयो । महिनौसम्म चिसो जेलमा राखिएका उनले काठमाडौंको भद्रगोल जेलमा पनि महिनौंसम्म यातना झेले ।

गौर थानाबाट वीरगञ्ज जेल सार्ने क्रममा ओलीलाई मार्ने योजना समेत बनेको थियो । जंगलमा भाग्न खोजेको अभियोगमा उनलाई मार्ने षड्यन्त्र थियो । तर, जेल सार्ने जिम्मेवारी दिएर पठाइएको उक्त टोलीको नेतृत्वकर्ता सई मोहनप्रसाद अधिकारीको मनमा दया पलायो । र उनले आफूलाई मर्नबाट जोगाएको कुरा शाक्यलाई एक रात ओलीले सुनाएका थिए । (पृष्ठ, ७)

जेल बसाइको क्रममा ओलीका कष्टकर भोगाइ दर्दनाक थिए । ‘१४ वर्षको जेल बसाइमा मैले एक वर्षको जति पनि खाना खाएको छैन होला,’ ओलीलाई शाक्यलाई भनेका थिए । त्यही क्रममा ओलीलाई अल्सर, टीबी, पायल्स जस्ता अनेक रोग लागेको उनले लेखेकी छन् ।

राधिका ३२ वर्षअघि फर्किन्छिन् । विवाहपश्चात् केपी ओलीका सामाजिक र राजनीतिक जीवनले आफ्नो दाम्पत्य जविनमा उति विमर्श हुन नपाएको उनी लेख्छिन् ।

यी बीचमा शाक्यका धेरै रहर ओलीका उपचार र राजनीतिक जीवनका सहयोगी मात्र बन्दैमा मारिएका हुनसक्छन् । एउटी गृहणी र असल पत्नीको भूमिका निभाउँदैमा उनका जीवनका महत्वपूर्ण हिस्सा गुमेका हुनसक्छन् ।

अस्पतालका कष्टकर यात्रा
स्वास्थ्य उपचारको क्रममा ओली नेपालका त्रि.वि शिक्षण अस्पताल महाराजगञ्ज, ब्ल्यु बर्ड क्लिनिक, नर्भिक अस्पताल थापाथली र ग्राण्डी अस्पताल टोखामा गरी करिब ६० दिनजस्तो अस्पताल बसेको कुरा शाक्यले आफ्नो पुस्तकमा उल्लेख गरेकी छन् ।

त्यसैगरी विदेशी अस्पतालमा पनि ओलीले थुप्रै दिन कटाएका छन् । ‘विदेशको एपोलो अस्पताल, मेदान्त अस्पताल, म्याक्स अस्पताल, अमेरिकाको न्यूयोर्कस्थित लेनोक्स हिल हस्पिटल, थाइल्याण्डको बैंककस्थित समिति भेज अस्पताल र बुमरुङगार्ड अस्पताल र सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा गरी करिब एक सय ५० दिन अस्पतालमा बस्नुभएको छ,’ शाक्यले लेखेकी छन् ।

ओलीलाई १० पटकको अन्तरालमा दुई पटक मिर्गौला प्रत्यारोपण गर्नुपर्‍यो । दुवै पटक प्रत्यारोपण सफल भयो । यी अवधिमा ओलीका स्वास्थ्यउपचारको लागि शाक्यले जति हण्डर खेप्नुपरेको छ, त्यो कम दुःखदायी छैन । २०६४ साल साउनमा दिल्लीको एपोलो अस्पतालमा डा अनन्तकुमार नेतृत्वको टोलीले किड्नी प्रत्यारोपण गरेको थियो ।

मिर्गौला ओलीको भाइबुहारी अञ्जना ओलीले दिएकी थिइन् । त्यतिबेला ओलीको उपचारमा दूतावासले गरेको नमीठो व्यवहार शाक्यको सम्झनामा आइरहन्छ । त्यतिबेला कोठा खोज्दै गर्नुको पीडा र ओलीको स्वास्थ्यलाई लिएर गर्नुपरेको संघर्ष उनी भुल्न सक्दिनन् ।

एकपटक बिमारी भएर अस्पताल बस्दा ओलीमा विस्मृतिको समस्या देखियो । त्यतिबेला शाक्यले बिताएका क्षण निकै पीडादायी थिए । ओली बिमारी भएकै कारण मआधिवेशनताका उनको स्वास्थ्यलाई एजेण्डा बनाउँदा पनि शाक्य दुःखी भएकी थिइन् । स्वास्थ्यमा राजनीति गर्ने समूहहरूले ‘आर्यघाटमा जाने मान्छेलाई अध्यक्ष बनाउने’ भन्ने खालका प्रश्न गर्दा उनको मन दुखेको थियो ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने क्रममा पनि ओलीको स्वास्थ्यमाथि राजनीति गरेको उनी लेख्छिन् ।

२०७६ फागुन २० गते दोस्रो पटक मिर्गौला प्रत्यारोपणमा ओलीलाई उनकी भाञ्जी समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी थिइन् । त्यसताका पनि ओलीको स्वास्थ्यमा आएको समस्याले आफू रातो दिन ननिदएको कुरा शाक्यको पुस्तकमा उल्लेख छ ।

शाक्यका कमजोरी : आवेगका प्रसंग
शाक्यले आफ्ना स्मृतिहरू लेख्दा कतै स्वभाविक देखिएकी छिन् त कतै दम्भ पनि देखाएकी छन् । शाक्य आवेगलाई थाम्न सक्दिनन् भन्ने कुरा एक दुई प्रसंगबाट भन्न सकिन्छ ।

२०६४ सालतरि केपी ओलीलाई दिल्ली पठाएको बेला बालकोटस्थित तत्कालीन एआइजी कृष्ण बस्नेतको घरमा वाइसियलका कार्यकताले घेरेका थिए । त्यहाँ प्रहरीहरू हुँदा पनि उनीहरू मूकदर्शक बनिरहेका थिए । त्यतिबेला उनले उनका सुरक्षार्थ प्रहरीलाई कठोर आदेश दिएकी थिइन्-‘यदि हाम्रो घरमा पनि उनीहरू आएमा गोली ठोक्नु, आदेश चाहिए अहिले नै लिइराख्नु ।’ (पृष्ठ ४६)

पुस्तक लेखिरहँदा पनि उनले पटक-पटक आवेगबारे खुलाएकी छन् । केपी ओलीले २०६४ सालको चुनाव हार्दा माओवादीका विश्वदीप लिङ्देनले चुनाव जितेको प्रसंगमा उनले लेखेकी छन्, ‘२०६५ वैशाख १ मा चुनावको परिमाण घोषणा हुनासाथ मेरो मन-मस्तिष्कबाट एउटा उद्गार निस्क्यो- धन्य छ झापाली जनता जसले केपी ओलीलाई हराएर एक जना दुष्ट मतिको मानिसलाई जितायो…।(पृष्ठ ५१)

अर्कोचाहिँ पार्टीको नवौं महाधिवेशनको उद्घाटनबाट अध्यक्षमा निर्वाचित भइसकेपछि ओलीसँग उनी भृकुटीमण्डप राष्ट्रिय सभागृहतर्फ गएकी थिइन् । ओली भृकुटीपण्डपतिर गए । एक छिनपछि सभागृहको पर्खालमा बसेका एक जना २०-२२ वर्षका युवक कराए- केपी ओलीलाई हामीले नेता बनाएका हौं । अहिले के फूर्ति गर्नु ?

यति सुन्नासाथ राधिका शाक्यलाई झनक्क रिस उठ्यो । ‘सरासर त्यो केटा कराइरहेको ठाउँतिर लागेँ । म त्यसरी अगाडि बढेको वरपर मलाई चिनेका साथीभाइले देखेछन् । उनीहरूले ममलाई अगाडि आएर रोके ।’ यहाँ उनको आवेग झल्किएको प्रष्ट हुन्छ । उनले थप्दै लेखेकी छन्, ‘केपी ओलीले राजनीति गर्दा र नेता हुँदा त्यो केटाका बा-आमासमेत जन्मेका थिए कि थिएनन् । तर, आज ऊ यसरी सतही रुपमा केपी ओलीमाथि जज गर्छ ।’

कतै कतै देखिएको यो आवेगले लेखकका स्वभावलाई भने दर्शाइहाल्दैनन् । किनकि, दुःख र दर्दले कहिलेकाहीँ व्यक्तिलाई कठोर बनाउँछ पनि । बरु लेखकले आफ्ना अनुभूतिलाई नढाँटिकन लेख्न सफल भइन् ।

सहानुभूति र प्रश्न
शाक्यले ओली गृहमन्त्री हुँदा होस् वा परराष्ट्रमन्त्री । त्यतिबेला गरेको काम प्रशंसायोग्य भएको ठान्छिन् । प्रधानमन्त्री हुँदा ओलीले गरेका कामबारे उनी मुक्तकण्ठले प्रशंसा गर्छिन् । बरु, ओलीका राजनीतिक सहयोद्धा माधव नेपाल र झलनाथ खनालले भने निकै अवरोध पुर्‍याएको कुरा पुस्तकमा उल्लेख गरेकी छन् ।

आफू राजनीतिक चासो राख्दिनँ भनेकी छन् शाक्यले । माधव नेपालले पार्टीको नेतृत्व गरिरहेको बेला केपी ओलीमाथि पूर्वाग्रह राखेको र अपमान गरेको उल्लेख गरेकी छन् । ०६४ सालमा ओली पार्टीको नेतृत्वमा नहुँदा पनि, संसदमा नहुँदा पनि उनको भूमिका सबैभन्दा निर्णायक भएको उनले उल्लेख गरेकी छन् ।

पुस्तकमा सुरुदेखि अन्तिम पन्नाको अनुच्छेदसम्म ओली जोडिएका छन् । पुस्तकमा केन्द्रीय पात्र नै ओली हुन् । शाक्यका अरु अनुभूति (जो नितान्त उनको होस्) आउने अपेक्षा गर्दागर्दै पन्ना सकिएपछि भने केही निराशा जागेका छन् । ओलीको राजनीति र सामाजिक जीवनमा शाक्यको निकै सहयोगी भूमिका रह्यो । तर, शाक्यको जीवनमा ओलीका भूमिका भने गौण देखिए । दम्पतीबीचको प्रेम झल्किए पनि शाक्यका सपनाबारे विमर्श भएको देखिएन । शाक्यका अनुभूतिमा धेरै कुरा छुटेको पाएपछि मलाई भने लागिरहेको छ- वियज मल्लको एकांकी ‘सत्ताको खोजी’ र आहुतिको उपन्यास ‘स्खलन’का पात्रहरू कहिलेबाट ‘एकादेश’का बन्लान् ?

ad