यो एउटा साघुँरो गल्लीमा
मेरो जुनकिरी जस्तै
एउटा सपना थियो ।
घरि बल्थ्यो
घरि निब्थ्यो
सपना विपनामै मलाई
सपना देखाउँथ्यो ।
सीत बन्ने चाहना भरेर जान्थ्यो
म सोच्ने गर्थे,
यो रित्तो आकाशसँग पनि सपना होला
ताराहरू उदाउँछु भनि ......
यो घामसग पनि त एउटा सपना होला
साँझ अस्ताएपनि
बिहान फेरि झुल्किन्छु भनि ......
तर ,
हेर जीन्दगी
आज भोलि म आफूसँगै रित्तो भएको छु ।
खुम्चिएर ,च्यातिएर र भत्किएर
उदांगो भएको छु।
मान्छेहरु भन्ने गर्छन्,
हरेक परिस्थितिमा जिउनुपर्छ ।
आमा के गरुँ ,?
म जीन्दगीको यो कहरनै
थेग्न नसक्ने भएको छु ।
आजभोलि हृदयका कम्पनहरू
निस्टुर भएका छन् ।
यो मनै मनको बजारमा न त
'म' भएको आभास छ
न त 'म' जस्तै अरु कोही........
डर के को लागेको हो भनिदेउ समय ?
यो आँसु बेदनामा पनि
खस्न छोडेको छ आजभोलि
भन्न मन छ जून जस्ता सपनाहरूसंग
कि .........,
म बाँचेछु भने श्वास लिएर हेर जीन्दगी
यो साँघुरो गल्लीमा दुरूस्तै
तिमीलाई दोहोर्याउन आउनेछु ।
म बाँचे भने त यो कहरमा हे जीन्दगी ......
तिमीसँगै गुन्गुनाउन र मुस्कुराउन आउनेनै छु
-अमृता खरेल