चैत ९ देखि गैँडा गणना २९ गतेसम्म सक्ने गरी तयारी

image आँखा संवाददाता बिहीबार, चैत्र ५ २०७७
image

काठमाडौं । २०७७ चैत ९ देखि नेपालमा गैँडा गणना सुरु गरिने भएको छ । यसका लागि सबै तयारी तीव्र पारिएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको गणना एकैसाथ हुने भएकाले प्रतापपुरबाट गणना थालिने राष्ट्रिय निकुञ्ज स्रोतले जनाएको छ ।

गणनाको सम्पूर्ण तयारी भने चितवन राष्ट्रिय निकुञ्जमा नै भइरहेको छ । चितवन र पर्सालाई एउटा ब्लक बनाइएको छ । गैँडा रहेका अन्य दुई राष्ट्रिय निकुञ्जमध्ये बर्दियामा चैत १७ र शुक्लाफाँटामा भने चैत १९ बाट गणना थालिने छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार हात्ती र गणकहरु छनोटको काम थालिएको छ । गणनामा ४० वटा हात्ती प्रयोग गरिँदै छ । दुई निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्ती गणनामा प्रयोग गरिने छ । कोशीमा दरबन्दी रहेर यहाँ रहेका हात्ती र मध्यवर्ती क्षेत्रमा केही निजी हात्तीलाई पनि गणनाका लागि लिइने छ ।

बरालका अनुसार ४० मुख्य गणक र वैकल्पिक २० जनालाई गणनामा खटाइँदै छ । यसका अतिरिक्त हात्तीको दरबन्दीमा रहेका कर्मचारी खटिने छन् । गणनामा खटिनेका लागि यही चैत ६ र ७ गते सौराहामा तालिमसमेत सञ्चालन गरिँदै छ ।

बरालले भन्नुभयो, ‘गणनामा ध्यान दिनुपर्ने विषयमा छलफलसँगै तालिम दिइने छ ।’ गणनाका समयमा आवश्यक पर्ने सामग्री खरिद, फारम छपाइको काम यतिबेला भइरहेको उहाँले जानकारी दिनुभयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछानेका अनुसार गणनामा खटिने कर्मचारी, हात्ती छनोटसँगै उनीहरुको बासस्थानको व्यवस्थापनलगायतका तयारी भइरहेको छ ।

निकुञ्जको गणना गर्नुपर्ने क्षेत्रको अध्ययन भइरहेको उहाँले जानकारी दिनुभयो । लामिछानेले भन्नुभयो, “हामी अन्तिम तयारीमा छौँ ।” यहाँका दुई निकुञ्जमा गैँडा गणना गर्न २० दिन हाराहारी लाग्ने उहाँले अनुमान सुनाउनु भयो ।

गैँडा गणना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा हुँदैछ । विभागका दुई कर्मचारी तयारीका लागि यहाँ आइसकेका छन् । विभागका सूचना अधिकारी इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार गणनाको उद्घाटन वन तथा वातावरणमन्त्री प्रेम आलेले गर्ने कार्यक्रम छ ।

आचार्यका अनुसार चैत २९ गतेसम्ममा चारवटै निकुञ्जमा गैँडा गणना सकेर वैशाख पहिलो साता नतिजा सार्वजनिक गर्ने तयारी छ । गत वर्ष चैत ११ गतेदेखि गैँडा गणना गर्ने भनिए पनि कोरोना सङ्क्रमणका कारण अन्तिम तयारी भएपछि स्थगन भएको थियो । दुई वर्षअघि गैँडा गणना गर्न लागिएको भए पनि तत्कालीन समयमा दाताको भर पर्दा बजेट अभावमा गणना हुनसकेको थिएन ।

सरकारले गत वर्ष गैँडा गणनाका लागि रु एक करोड १० लाख विनियोजन गरेको थियो । आचार्यका अनुसार गत वर्ष केही सामग्री खरिद भएकाले यस वर्ष सरकारले रु ८० लाख विनियोजन गरेको छ ।

दाताबाट रु २५ लाख हाराहारी सहयोग हुने उहाँले जानकारी दिनुभयो । राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र जेडएसएल नेपाललगायतका सङ्घसंस्थाको सहयोगमा गैँडा गणना गरिँदै छ ।

हरेक पाँच वर्षमा गैँडा गणना गर्ने गरिन्छ । यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो । निकुञ्जलाई विभिन्न ब्लक बनाएर प्राविधिकले एक–एक गरी गैँडा गन्नेछन् । गणनाका लागि हात्ती, दूरबिन, क्यामेरालगायत प्रयोग गरिन्छ । गैँडाको सङ्ख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन हरेक पाँच–पाँच वर्षमा गैँडा गणना गरिँदै आएको थियो । गणनापछि यसको अवस्था हेरेर व्यवस्थापनको काम गरिने छ ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लोपटक सन् २०१५ को गणनामा नेपालमा कूल ६४५ गैँडा थिए । तथ्याङ्कअनुसार चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाँटामा आठ र पर्सामा तीन गैँडा भेटिएका थिए ।