टोकियोमा फेरि बढे सङ्क्रमित, बुधबार यो महिनाकै सबैभन्दा धेरै

image आँखा संवाददाता बुधबार, चैत्र ११ २०७७
image

 

टोकियो, ११ चैत / जापानको राजधानी टोकियोमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार टोकियोमा बुधबार थप ४२० जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

योसँगै राजधानी टोकियोमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या एक लाख १८ हजार ४६१ पुगेको छ । टोकियोमा बुधबार दोस्रो पटक दैनिक सङ्क्रमितको सङ्ख्या ४०० नाघेको हो । यसअघि अघिल्लो एकैदिनमा ४०९ जना सङ्क्रमित भएका थिए ।

सरकारी अधिकारीहरुका अनुसार राजधानी टोकियोमा गत मङ्गलबार ३३७ जना र सोमबार १८७ जना नयाँ सङ्क्रमित थपिएका थिए । टोकियो क्षेत्रमा यसअघि लामो समयदेखि लागू गरिएको धेरै प्रतिबन्धात्मक व्यवस्थाहरु हटाइएपछि सङ्क्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको हो ।

कतिपय स्थानीय अधिकारीहरुले भने सार्वजनिक र ठूला कतिपय कार्यक्रमहरुका कारण सङ्क्रमण थप फैलिएको दाबी गरेका छन् । पछिल्लो सात दिनमा औसतमा ३०९.७ जना नयाँ सङ्क्रमित थपिएको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

कोरोनाभाइरसबाट प्रभावित मुलुकहरुको सूचीमा जापान ३९औँ क्रममा पर्दछ । जापानमा अहिलेसम्म चार लाख ५७ हजार ७५४ जना सङ्क्रमित भएका छन् । त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएर आठ हजार ८६१ जनाको मृत्यु भएको जापानका अधिकारीहरुले जनाएका छन् ।