खोप लगाएको दुई दिनपछि पाकिस्तानी प्रधानमन्त्री खानलाई कोभिड–१९ सङ्क्रमण पुष्टि

image आँखा संवाददाता शनिबार, चैत्र ७ २०७७
image

 

इस्लामावाद, ७ चैत (रासस/एएफपी) / पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई शनिबार कोभिड–१९ सङ्क्रमण पुष्टि भएको पाकिस्तानी अधिकारीहरूले पुष्टि गरेका छन् ।

पाकिस्तानी सूचना मन्त्री शिब्ली फराजले जियो न्यूज टेलिभिजनसँगको कुराकानीमा प्रधानमन्त्री खानले खोप लगाउनुभन्दा पहिले नै सार्वजनिक कार्यक्रमहरूमा सक्रिय रहेकाले त्यही समय सङ्क्रमण सरेको हुनसक्ने बताउनुभएको छ ।

कोभिड–१९ विरूद्धको पहिलो खोप लगाएको ठीक दुई दिनपछि उहाँलाई सङ्क्रमण भएको पुष्टि गरिएको छ । अठ्सट्ठी बर्षीय प्रसिद्ध पूर्व क्रिकेट खेलाडीसमेत रहेका प्रधानमन्त्री खानले बिहीबार चीनमा विकास गरिएको सिनोफार्म खोप लगाउनुभएको थियो ।

पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गरी भनेको छ, “अहिले हामी यति मात्र भन्न सक्छौँ कि प्रधानमन्त्री खानलाई सङ्क्रमण पुष्टि भएको छ र उहाँले आफूलाई अन्य व्यक्तिको सम्पर्कबाट टाढा राख्नुभएको छ ।” प्रधानमन्त्री खानलाई शनिबार हल्का खोकी र हल्का ज्वरो आएको पुष्टि उहाँका प्रवक्ता सहबाज गिलले गर्दै उहाँको शनिबार नै परीक्षण हुँदा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको हो । प्रधानमन्त्रीलाई सङ्क्रमण पुष्टि भएपछि विगत केही दिनमा उहाँको निकट पुगेका व्यक्तिहरूलाई सावधानी अपनाउन भनिएको छ ।

यसैबीच प्रवक्ता गिलले भन्नुभयो, “सङ्क्रमण पुष्टि हुनुलाई खोपसँग जोडेर नहेरिदिनोस् । खोप लगाएको केही हप्तापछि मात्र शरीरमा कोभिडविरूद्धको प्रतिरक्षा प्रणाली विकास हुने हो । तपाईको मान्यजनहरू तथा प्रियजनलाई खोप लगाउने सुनिश्चित गराउनुहोस् । सचेत रहनुहोस् ।” पाकिस्तानमा शनिबारसम्ममा छ लाख २० हजार सङ्क्रमित रहेको सरकारी तथ्याङ्क रहेको छ भने यहाँ कोभिड–१९ सङ्क्रमित १३ हजार ८०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

पाकिस्तानले चीनबाट सहयोगप्राप्त १० लाख खोपलाई प्रथमिकताका आधारमा स्वास्थ्यकर्मी तथा अग्रपङ्तीमा खटिने कर्मचारी पत्रकारलगायतका जोखिममा रहेका व्यक्तिहरूलाई दिन सुरू गरिसकेको छ ।