एक सातामा लिटरमै १० रूपैयाँ बढ्यो तेलको मूल्य

image आँखा संवाददाता बिहीबार, फागुन २७ २०७७
image

काठमाडौँ । एक महिनाअघि अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको जनाउँदै खाने तेल उद्योगीले अस्वाभाविक मूल्यवृद्धि गरे ।

मूल्यवृद्धिको सर्वत्र आलोचना भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रज्ञापनपत्र मगाएर अनुसन्धान थाल्यो । प्रज्ञापनपत्र विश्लेषणका क्रममा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको र केही प्रज्ञापनपत्रमा मूल्य घटे पनि यहाँ घटाइएको देखिएन ।

लागत मूल्य र एमआरपीबीचमै धेरै फरक देखिएपछि विभागले अन्नपूर्ण भेजिटेबल प्रालि र महालक्ष्मी सल्भेन्ट एन्ड रिफाइनरीलाई जरिवाना गरे पनि अन्यलाई कारबाही गरेन ।

कारबाहीमा परेका यी दुईबाहेक अन्यलाई मूल्य घटाउन मात्रै निर्देशन दिइयो । खाने तेलको मूल्य केही समय घटाएजस्तो गरेका उद्योगीहरूले पछिल्लो समय फेरि बढाएका छन् । पछिल्लो समयका राजनीतिक घटनाक्रमसँगै मूल्य बढाउने गिरोह पुनः सक्रिय भएको बताइएको छ ।

मिल उद्योग र आयातकर्ताको मिलेमतोमा पुनः मूल्य बढाइएको खुद्रा व्यापार संघका महासचिव अमूलकाजी तुलाधारको दाबी छ । वाणिज्य विभाग देखाउने दाँत मात्रै भएकाले समस्या समाधान हुन नसकेको उनको आरोप छ ।

‘विभागले उद्योगीसँग कागजात मागेपछि घटाएजस्तो गरेका मात्रै हुन् । वास्तवमा मूल्य घटाएकै छैनन् । कम्पनीहरूले लिटरमै २०/३० रुपैयाँ बढाए खुद्राले ५ रुपैयाँ बढाउने हो,’ उनले भने, ‘सबै माथिबाटै चलखेल भइरहेको छ ।’ आजको कान्तिपुर दैनिकले एक सातामा लिटरमै १० रूपैयाँ बढेको खबर छापेको छ ।