राजनीतिमा "ब्राण्ड" बन्दैछ "गाली"

image
image रमेश कुमार सुबेदी १२ दिन अगाडी

गाली गर्नु कसैका लागी हितकर छैन।त्यै पनि यसको प्रयोग कुनै न कुनै रुपमा भएको पाइन्छ। सभ्य बोलीको जवाफ सभ्य नै हुन्छ भने असभ्यको जवाफ असभ्य नै हुन्छ।यो सबैमा लागु नभएपनि,धेरैमा यस्तो आदत पक्कै हुन्छ। घरमा ठुलाले सानालाइ प्रायः कुनै न कुनै रुपमा गाली गरेकै हुन्छन् ।

त्यो गालीमा सकारात्मक सोच हुन्छ,सुधारका संकेतहरु पाइन्छ्न। त्यसमा माया हुन्छ,भावनात्मक सम्बन्ध हुन्छ,उत्प्रेरणा हुन्छ , त्यसैले त्यो गालीले बिझाउदैन।गाली गर्ने प्रति सम्मान कायमै राखिन्छ। यसको मुल कारण त्यहा बेइज्जत गर्ने उद्देश्य हुदैन,केवल माया हुन्छ।त्यो गालीमा अपनत्व पाइन्छ।

रगतको सम्बन्ध हुन्छ,साथीभाईको नाता हुन्छ। यस्तो आफ्नो आत्मियपन हुदाहुदै पनि कहिलेकाही छिटपुट रुपमा स-साना कुरामा आफन्त,नातागोता तथा भाइ-भाइ बिचमा समेत अपमान,मानमर्दन गर्ने कुराहरु नदेखिएको होइन।समाजमा एकअर्काको गालीगलौज, झैझगडा,अपमान तथा मानमर्दनहुदा भलाद्मीको रुपमा राजनैतिज्ञहरु उपस्थित तथा अग्रसर भएर सम्झाउने, मिलाउने गर्नुहुन्छ।यस्ता गतिविधि राम्रा होइनन् भन्नु हुन्छ।समाजलाइ बाटो देखाउनु हुन्छ।

आज किन हो किन उहाँहरु तछाडमछाड गरेर सम्मानित नेताज्युहरुकै मानमर्दन लिन होडबाजी गर्नुहुन्छ।हिजो समाजका गन्यमान्य भएका,भलाद्मीको रुपमा चिनिएका,समाजले मानेका, सम्मान गर्न लायक भएका अगुवाहरु समेत नेताजी हरुको मानमर्दन गर्न तछाड्मछाड गरेको देख्दा कताकता हिनताबोध हुन्छ।

उहाहरुलाइ देख्दा नमस्कारगर्ने हातहरु लल्याकलुलुक भै दिन्छ।उत्साहका साथ दिएको सम्मान,ब्यर्थ भएको अनुभव भैदिन्छ।अनी आफैले आफ्नो आपमान भएको महसुुस हुन्छ,। समाजमा कसैले कसैको अपमान तथा मानमर्दन गर्नहुदैन भन्ने अगुवाबाट समेत यस्ता गतिविधिहुनु राजनैतिक इतिहासकै खराव पक्ष हो।

यसको नतिजा भविस्यमा नकारात्मक नै हुनआउछ। भिन्न बिचार मानवका विशेषता हुन।सोचाइमा फरकपन आउनु उसको बिशेष गुण नै हो ।, यहा त एकै ठाउँमा टासिंदा सबै राम्रो, छुट्टिनु पर्दा नराम्रो मात्र हैन ज्यादै नराम्रो भएकोछ। सम्बन्ध , स्वार्थ मिलेमा मात्र गजबको दोस्ति देखिन्छ। नमिलेमा पानी बाराबारको स्थिति हुदै त्यो "याराना" "फुस्सा" भएर गएको देखिन्छ। जव बिस्तारै सम्बन्धहरुमा प्वालपर्न थाल्छ।

एकले अर्कालाई गाली बेइज्जती तथा मानमर्दनको उपहार दिन होडबाजी नै चल्छ।कसले कसलाई गाली बेइज्जतीको महंगो उपहार दिने,तछाडमछाड हुन्छ। लाग्छ,नेपाली शब्दकोष रित्तिदैछ,शव्द कम हुदैछ। त्यसमा झन हामी ग्रुप- उप ग्रुप भएर "होमाहो" मिलाउदै तितो थपिदिन्छौ।एकले अर्काको खोइरो खन्छौ।

यस्ता शब्द प्रयोग गरिदिन्छौ कि,बिचरा ! नेपाली शब्दकोष आफै लज्जावति झार जस्तै निहुरिन परेको छ।अर्काको बेइज्जत गर्नेको सुरुमा आफ्नै बेइज्जत हुन्छ,यो ज्ञानको हेक्का समेत राख्दैनौ।कसले बढि अपमान गर्न सक्छ,उ आफैमा मख्ख पर्छ।उसलाइ "यु आर राइट"को बहार आउछ।सायद फोन मार्फत धन्यबाद पनि आउछ कि?

अहिले भैरहेको यस्ता तौरतरिकाले,इमान्दार र नैतिकवानलाइ राजनैतिक जिवन निक्कै भारी/बोझ भएकोछ।उ निरासछ।यहाँ त गफ बिकेकोछ।गालिमा ताली उपहार सहितको "ब्राण्ड" भएकोछ। अर्काको जति मानमर्दन गर्नसकियो,उति आफ्नो इज्जत बढ्छ,भन्ने मानसिकता र म तिम्रो कट्टर समर्थक हुं,भन्ने देखाउनलाई जानेर नजाजेर यसमा नेताजी मात्र हैन,हामी धेरैको सहभागिता भएको तथ्यलाइ नजरअन्दाज गर्न सकिदैन ।

यो पक्कै पनि राम्रो होइन।यसले नोक्सान सबैको हुन्छ।कुनै न कुनै रुपमा यसको छिटाले सबैलाइ पक्कै भेट्छ। अग्रजहरुलाइ सम्मान गर्ने हाम्रो संस्कार हुदाहुदै पनि उहाँहरु समेत चोखो रहन सक्नुभएन ।बिस्तारै सबैको भागमा क्रमशः उन्नाइस र बिस गर्दै भाग लागी रहेकोछ।यो गम्भीर कुरा हो।

यसमा सबैको ध्यान जानु जरुरी छ। म सभ्य,शिष्ट,शिक्षित हु,जान्ने हु भन्नेहरुबाट समेत एकले अर्काको मानमर्दन (गाली) गर्ने कुरा राजनितीमा देखापर्नु डरलाग्दो अवस्था हो। यो अपमान गर्ने पराकाष्ठा नै मान्नु पर्छ।शिक्षित समुदाय समेत संलग्नहुनुलाइ "संस्थागत" रुपमा मौलाउदै गएको प्रमाण मान्नुपर्छ । त्यसैकारण हुनसक्छ,यसले कोहिकसैलाइ बांकि राखेको छैन। फरक मतराख्नु,अन्तरबिरोध हुनु, सैद्धान्तिक कुराहरु नमिल्नु राजनीतिका सुन्दर पक्ष हुन।

यसको सम्मान गर्नुपर्छ।सम्मान गर्न जान्नु पर्छ।बोली र ब्यवहारले मान्छे आकर्षितहुने हो।बोली ब्यवहार ठिक नभएपछि उसमा आकर्षण रहदैन।कुनै ब्यक्तिको आकर्षण हराउदै जानु भनेको उसको पहिचान गुम्दै जानु हो। पहिचान बेगरको मान्छेको अस्तित्व रहदैन। उ सुन्यमा विलाउछ,हराउछ।

कसैको अपमान गर्न उत्साहित हुनेहरुले बुझ्नु पर्छ,उहाहरुले आफ्नो पहिचान गुमाउदै हुनुहुन्छ।सुन्यमा विलीनहुन उत्प्रेरित हुनुहुदैछ। आफु भित्र आवेग,कुण्ठापाल्दै हुनुहुन्छ। आफ्ना सन्ततिले जान्नैपर्ने नैतिकत शिक्षाको अपमान गर्दैहुनुहुन्छ । एकआपसमा सम्मान गर्नुपर्ने संस्कारलाइ तिरस्कार गर्दैहुनुहुन्छ।

अहिले जानेर नजानेर जेजस्तो अवस्थामा भएपनि हामीले गरेको यस्ता क्रियाकलापले राजनीतिमा चासो राख्ने भोलिका सन्ततिले कस्तो शिक्षा लिन्छन् ? कतै अर्काको मानमर्दन गर्ने ब्यक्ति नै असल र योग्य राजनितीज्ञ हुन्छ,भन्ने छाप त पर्दैन । सोच्नेबेला भएन र ? नेता र कार्यकर्तामा अनुशासन हुनुपर्छ।

उहाँहरूमा अनुशासन यति खस्किएको छ कि,चाहेर पनि नियन्त्रणमा ल्याउन सक्ने अवस्था देखिदैन। आत्मा साक्षी राखेर भन्नुपर्दा अनुशासन गुमाएकालाइ प्रोत्साहन दिएको देखिन्छ। यो गलत हो भन्ने थाहा पाउदापाउदै पनि तैचुप मैचुप भएको कारण दैनिक जसो यस्ता ब्यवहार बढ्दै गएको पाइन्छ।

कार्वाही प्रक्रिया अगाडी बढाउन कसैले सक्दैन।मुलि नै यसको स्रोत भएपछि कसको के लाग्छ र! तसर्थ सबैले स्व अनुशासनमा बसेर आफुले आफैलाइ नियन्त्रण गर्नु भन्दा अरु कुनै उत्तम उपाय देखिदैन। अस्तु । रमेश कुमार सुबेदी

ad