झापालाई  ‘चिया जोन’को रुपमा विकास गर्नुपर्नेमा जोड

image आँखा संवाददाता सोमबार, फागुन २४ २०७७
image

झापा, २४ फागुन ।  नगदे बालीको रुपमा रहेको चियालाई प्रवद्र्धन गर्न झापालाई  ‘चिया जोन’को रुपमा विकास गर्नुपर्ने माग गरिएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय झापाले चिया सरोकारवालाहरुसँग आइतबार चन्द्रगढीस्थित कृषि ज्ञान केन्द्रको सभाहलमा गरेको छलफल कार्यक्रम सो माग गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले झापा चियाको राजधानी भएको हुँदा चिया जोन बनाउनका लागि बोर्डले सरकारसँग पहल गर्नुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना लगायतले सरकारले तोकेको चिया श्रमिकको न्यूनतम पारिश्रमिक लागू गर्न बोर्डलाई महत्वपूर्ण भूमिका निवार्ह गर्न आग्रह गर्दै चिया जोन बनाएमा किसान, मजदूर र उद्योगी सबैको हित र संरक्षण हुने बताए ।

त्यसैगरी, राष्ट्रिय चिया तथा कफि विकास बोर्डका सञ्चालक सदस्य आदित्य पराजुली र हर्क तामाङले चियाको मार्केट्रिक बोर्ड स्वयंमले गर्नुपर्ने, किसानको खोसिएको सिंचाई सुविधामा दिएको विद्युतीय सहुलियत दर पुनः कायम गर्नुपर्ने र चिया किसानलाई सहजरुपमा मल उपलब्ध गराउनुपर्ने लगायतका माग सरकारसँग राखेको बताए ।

उनीहरुले किसानलाई निरास नहुन र गुणस्तरीय उत्पादनमा जोड दिन आग्रह गरे ।कार्यक्रममा कृषि ज्ञान केन्द्र कृषि अधिकृत शालिकराम भट्टराईले कार्यालयसँग चियाको विज्ञ प्राविधिक नभए पनि अन्यवालीको अवस्थालाई हेरेर सल्लाह सुझाव दिने गरेको बताए ।

उनले किसानलाई मलका लागि डिलर राख्न कार्यालयलाई अधिकार नभएको र स्थानीय तहमै त्यो अधिकार गइसकेको जानकारी दिए ।