अपहरणमा परेका नाइजेरियाका २७९ छात्रा रिहा

image आँखा संवाददाता मङ्गलबार, फागुन १८ २०७७
image

 

गुसौ, नाइजेरिया, १८ फागुन (रासस-एएफपी) : अपहरणमा परेका नाइजेरियाका छात्राहरु मुक्त भएका छन् । देशको उत्तरी क्षेत्रमा रहेको निजी विद्यालयबाट अपहरणमा परेका सबै २७९ जना रिहा भएका हुन् ।

अपहरणमा परेका सबै जना छात्रा रहेको जनाइएको छ । उनीहरुलाई सरकारी संरक्षणमा राखिएको सरकारी अधिकारीहरुले मङ्गलबार एएफपीलाई जानकारी दिएका छन् ।

“अपहरणमा परेका बालिका मुक्त भएको थाहा पाउँदा अन्त्यन्त खुशी लागेको छ,” जाम्फारा राज्यका गभर्नर डा बेलो मतावाले भन्नुभयो । उहाँले बालिकाहरु सकुशल फर्किनुमा अल्लाहको आर्शिवाद रहेको पनि बताउनुभयो ।

नाइजेरियामा बालिका अपहरणका घटनाहरु लामो समयदेखि हुँदै आएका छन् । अधिकारीहरुले यसअघि सयौंको संख्यामा आएका बन्धुकधारीहरुले दुर्गम जान्गेबे गाउँमा रहेको एक माध्यमिक विद्यालयबाट ३१७ जना बालिका अपहरण गरेको बताएका थिए ।

तर पछि यो संख्या २७९ रहेको जानकारी दिइएको थियो । भारी मात्रामा हातहतियार सहितका आपराधिक समूहले उत्तरपश्चिम र मध्य नाइजेरियामा हालैका वर्षहरुमा निकै उपद्रो मच्चाइरहेका छन् ।

उनीहरुले मानिसहरुलाई फिरौतीका लागि अपहरण गर्ने, बलात्कार गर्ने तथा लुटपाट गर्ने गरेका छन् । नाइजेरियाको सेनाले यस क्षेत्रमा सन् २०१६ देखि कारबाही गरिरहेको छ र सन् २०१९ मा बन्दुकधारीहरुसँग शान्ति सम्झौता पनि गरिएको थियो तर आक्रमणका घटना रोकिएका छैनन् ।

गत डिसेम्बरमा कन्काराको एक विद्यालयबाट ३०० भन्दा बढी बालक अपहरण गरिएको थियो । यो क्षेत्र राष्ट्रपति मुहम्मदु बुहारीको गृहराज्य काट्सिनामै रहेको छ । तर पछि ती बालकलाई अपहरणकारीले मुक्त गरेका थिए ।

तर चिबोकबाट जिहादी समूहले गरेको २७६ जना स्कुले बालिकाको अपहरण भने निकै डरलाग्दो थियो । सरकारी फौजको व्यापक कारबाहीपछि केहीलाई जिहादी समूहले मुक्त गरेपनि अझै पनि केही बालबालिका बेपत्ता छन् ।

लेगोसस्थित अनुसन्धान संस्था एसबी मार्गनका अनुसार सन् २०१६ को जनवरीदेखि मार्च २०२० को अवधिमा मात्र अपहरणकारीलाई एक करोड १० लाख डलर फिरौती बुझाइएको छ ।

इन्टरनेसनल क्राइसिस ग्रुपको अर्को अध्ययन अनुसार विद्यालयमा सुरक्षा खतरा रहेको भन्दै यस अफ्रिकी क्षेत्रमै विद्यालय नजाने बालबालिकाको संख्या विश्वमै सबैभन्दा बढी छ ।