मायामा सुनमा सुगन्ध हो सेक्स : धनमा , स्टेटसमा र शिक्षामा माया नखोजौ

image विष्णु शर्मा आइतबार​, फागुन २ २०७७
image

आज भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस । हुन त प्रेम गर्न कुनै दिवस कुरिराख्नु पर्दैन । तर, पनि प्रेमी–प्रेमिकाहरुले आजको दिनलाई एउटा चाडकै रुपमा लिन्छन् ।

पश्चिमा देशहरुबाट भित्रिएको भ्यालेन्टाइन डेको संस्कृति नेपालमा पनि झांगिइसकेको छ । तथापि, यसलाई विकृतिका रुपमा लिनेहरु पनि प्रशस्त छन् । भ्यालेन्टाइन्स डे मनाउनु ठिक वा गलत जे भए पनि प्रेम चाहिं कहिल्यै गलत हुन सक्दैन । यो एउटा शाश्वत सत्य हो, जुन विना सृष्टिको निरन्तरताको कल्पना पनि गर्न सकिन्न ।

पछिल्लो समयमा इन्टनेट र मोबाइलको व्यापकताले युवा-युवतीबीच प्रेम गाँस्न कठिन छैन । जोड्न जति सजिलो छ, टिकाउन भने उत्तिकै गाह्रो । धेरै प्रेम असफल भइरहेका छन् । आखिर किन ? आज हामीले चर्चित आरजे सविना कार्की सँग प्रेमसँग जोडिएका विभिन्न विषयमा कुराकानी गरेका छौं । युवा–युवतीमाझ ‘लभ गुरु’ को छवि बनाएकी सविनासँग गरिएको कुराकानीः

कोभिड १९ को महामारीले मानिसहरुलाई भौतिक दूरी बनाएर बस्न बाध्य तुल्याएको छ । आगामी दिनहरुमा पुरुष र स्त्रीबीचको प्रेमसम्बन्ध कसरी अघि बढ्ने देख्नुहुन्छ ?

दुई दिन अगाडि मात्र मलाई एउटा म्यासेज आयो । मसँग भेटेर परामर्श गर्न चाहेको कुरा लेखिएको थियो । सन्देश पठाउने एउटी डिभोर्स महिला हुनुहुँदोरहेछ । डिभोर्स भए पनि बच्चाबच्चीको लागि पुनः श्रीमान्सँग गएर बस्नुभएको रहेछ ।

उहाँ यति आजित थियो कि म ‘श्रीमान्लाई मार्न पनि तयार छु’ भन्नेजस्ता कुरा गर्नुभयो । म त झसङ्गै भएँ उहाँका कुरा सुनेर ।

कोरोनाकालमा मलाई तनावसम्बन्धी यस्ता सन्देश आउँथे । मायामा निकट हुँदाको मजा बेग्लै हुन्छ र बराबरी स्पेसमा इन्जोय पनि हुन्छ । तर, कामकाजी महिला घरमै बसिरहँदा झन् कामको बोझ थपिने, आफ्नो स्पेस पनि नहुने, पार्टनरसँगको टकराव बढ्ने स्थिति भयो ।

यसबीच सम्बन्धको सुन्दर पाटो पनि देखियो । जो व्यस्त थिए र कसैसँग सम्पर्कमा थिएनन्, उनीहरुले फुर्सद पाए । सँगै साथ बिताउन पाउँदा एक-अर्काप्रतिको गलत बुझाइ र कम्युनिकेसन ग्याप हटेको पनि देखियो । सुरुदेखि नै एक व्यक्ति र जोडीमा त्यो निर्भर हुने हो ।

एउटा अन्तर्राष्ट्रिय शाेधमा महामारीले गर्दा स्पर्शमा कमी आउने र मान्छेले आफूलाई एक्लो महसूस गर्ने उल्लेख गरिएको थियो । नेपालमा यसको प्रभाव कस्तो ढंगले पर्ला ?

सम्बन्धमा स्पर्शको ठूलो भूमिका हुन्छ । छैटाैं इन्द्रिय यस्तो हुन्छ कि छुवाइको नियत थाहा हुन्छ । आमाबुवाले काँधमा हात राखिदिनुभयो भने त्यसले ठूलो ऊर्जाको काम गर्छ । शारीरिक निकटता भनेको यौन सम्पर्क मात्र होइन । त्यो सेकेन्डरी कुरा हो । तपाइँले कसैलाई मायाले अँगालो हाल्नुहुन्छ र गाला सुम्सुम्याउनुहुन्छ भने त्यो प्राथमिक कुरा हो । मायामा मीठो स्पर्श अत्यन्त महत्वपूर्ण छ ।

मलाई सोधिने मायाका प्रश्नहरु पनि कति धेरै फरक भैसके अब त । पहिले माया कसरी गर्ने दिदी भनेर धेरै सोधिन्थे । अहिले त म विवाहित मान्छेको प्रेममा परेको छु के गरौं, मलाई दुई जनाको माया लाग्छ दिदी के गरौं भन्ने प्रश्नहरु मैले धेरै पाउन थालेकी छु ।

कहिलेकाहीं स्पर्श नहोला तर, प्रविधिले चाहिं धेरै टेकओभर गरिसक्यो । तपाइँले ‘हर’ भन्ने चलचित्र पनि हेर्नुभएको होला । मलाई लाग्छ, बिस्तारै त्यो फिल्म वास्तविकतामा पनि आउँछ होला । त्यो प्रविधि सम्बन्धी फिल्म हो जहाँ कुनै समयमा यस्तो हुनेछ भनेर देखाइएको छ । त्यहाँ एउटा एप हुन्छ र आवाज । लाखौं मान्छे त्यही आवाजको मायामा पर्छन् । यस्तो खालको प्रविधि आउँदैछ रे, संसारको कुनै कुनामा बटन थिच्दा अर्को कुनामा त्यसको भाइब्रेसन महसुस हुन्छ रे । त्यो स्पर्शका रुपहरु पनि फेरिंदैछन् भनेर भन्न सकिन्छ अब ।

हुन त यो सदावहार बहसको विषय हो । तर आजको विन्दुमा उभिएर भन्नुपर्दा तपाईं एरेञ्ज म्यारिजलाई बढी भरपर्दो मान्नुहुन्छ कि लभ म्यारिजलाई ?

एरेन्ज राम्रो कि लभ म्यारिज भन्ने भन्दा पनि त्यसमा समाहित जोडी कस्तो भन्ने मूल प्रश्न हो । प्रविधिले हामीलाई यति धेरै टेकओभर गरेको छ कि सात समुन्द्रपारको मान्छेसँग धेरै कुरा हुन्छ तर, छेउकैसँग हुँदैन । मान्छेले अझ बढी स्पेस खोज्न थालेका छन् । इन्टरनेटले मान्छेलाई केन्द्रित हुन दिएको छैन । सम्बन्धमा डिस्ट्रयाक्सन र चुनौती बढी छन् । प्रविधिले मिलाउँछ पनि । प्रविधिले लामो दूरीको सम्बन्धलाई राम्रो बनाएको पनि छ । मान्छे एक क्लिकको दूरीमा छ ।

बीस वर्ष अगाडिको लभ र अहिलेको लभ ट्रेन्डमा कस्तो भिन्नता पाउनुभएको छ ? त्यतिबेला कसरी प्रेम गरिन्थ्यो ?

बीस वर्ष अगाडि डेट गर्ने ठाउँ पनि हुन्थेन । सँगै बसेर घुम्न जानको लागि पनि कति धेरै समस्या हुन्थ्यो । त्यसबेला केटाले मात्र प्रपोज गर्नुपर्छ भन्ने सोच थियो । अहिले धेरै परिवर्तन भैसक्यो ।

मलाई सोधिने मायाका प्रश्नहरु पनि कति धेरै फरक भैसके अब त । पहिले माया कसरी गर्ने दिदी भनेर धेरै सोधिन्थे । अहिले त म विवाहित मान्छेको प्रेममा परेको छु के गरौं, मलाई दुई जनाको माया लाग्छ दिदी के गरौं भन्ने प्रश्नहरु मैले धेरै पाउन थालेकी छु । चोखो माया पाउन पहिलेभन्दा चुनौती बढेको जस्तो लाग्छ ।

प्रेममा मैले धेरै लहड देखेको छु । युवा भनेको एउटा उमेर, संगत र लहड हो । यति नै उमेर भनेर किटानी गर्नुभन्दा पनि बुद्धिमतापूर्वक जीवनको प्राथमिकता तय गर्नु र जिन्दगीलाई सन्तुलनमा राख्नु जरुरी छ ।

त्यसो भए के एउटै मान्छेले एकैपटक एकभन्दा बढी व्यक्तिसँग साँचो प्रेम गर्न सक्छ ?

यो एउटा बहसको विषय बन्न सक्छ । गर्न सक्छ वा सक्दैन भन्ने कुरा कसरी नाप्ने ? अंग्रेजीमा इन्टिग्रिटी (इमानदारिता एवं नैतिक मूल्य–मान्यता) भन्ने कुरा जीवनको एउटा ठूलो पाटो हो । मान्छेको मन हो । मायामा पनि एउटा निश्चित अनुशासन हुनु जरुरी छ । माया उसले गर्ला–नगर्ला । तर, समानरुपमा माया गर्छ भनेर नाप्ने संयन्त्र के छ ? कि त तराजु हुनुपर्‍यो नाप्नका लागि । कसरी भन्न सकिन्छ र ?

तपाईंको विचारमा प्रेममा भौतिक आकर्षण कति महत्वपूर्ण हुन्छ ?

हुन्छ, तर क्षणिकरुपमा मात्र । राम्रो रुप, रङ र वर्णको अपेक्षा गर्नु स्वाभाविक कुरा हो । आकर्षित त भइन्छ तर, सम्बन्धमा खुशी भइरहन र टिकिरहन त्यो मात्रै सबैथोक होइन । पछि अन्य कुराहरु नै महत्वपूर्ण हुन जान्छन् । सुरुमा आकर्षण चाहिन्छ र पछि चाहिंदैन भन्न खोजेको होइन । सधैं आफ्नो पार्टनर आकर्षित भएर बसिरहोस् भन्ने त कसको चाहना हुँदैन र ? माया भनेको समझदारी हो । मेरो पार्टनरले मलाई बुझिरहोस् भन्ने बुझिदिए माया मौलाइरहन्छ जस्तो लाग्छ ।

युवा-युवतीहरु कति उमेरपछि रिलेसनसिपमा बस्न ठीक हुन्छ ?

कानुनले त दुवैलाई २० वर्ष तोकेको छ । युवा उमेर भनेको एउटा जीवनमाथिको लगानी हो । जेमा लगानी गर्नुहुन्छ भोलि जिन्दगीमा त्यसैको प्रतिफल खाने हो । उमेरभन्दा पनि प्राथमिकता हो । तपाइँ आफ्नो काम, करिअर र जिम्मेवारीमा सचेत भएर लाग्नुपर्छ । प्रेममा मैले धेरै लहड देखेको छु । युवा भनेको एउटा उमेर, संगत र लहड हो । यति नै उमेर भनेर किटानी गर्नुभन्दा पनि बुद्धिमतापूर्वक जीवनको प्राथमिकता तय गर्नु र जिन्दगीलाई सन्तुलनमा राख्नु जरुरी छ ।

तपाईंको अनुभवमा प्रेममा असफल हुनुका कारण के-के हुन्छन् ?

पहिलो कुरा चाहिं मैले जस्तो चाहेको हो, त्यो व्यक्ति त्यस्तै भैदेयोस् भन्ने अपेक्षा । जब अपेक्षा निराशामा परिणत हुन्छ तब सम्बन्ध असफल हुन्छ । समझदारी नै सम्बन्धको प्रमुख आवश्यकता हो । सम्बन्ध रिमोट कन्ट्रोलले चल्दैन, यो त समझदारीले चल्ने हो । एक–आपसको माया, सद्भाव र समझदारीले चल्छ । जब यी कुरा हुँदैनन् तब न सम्बन्ध असफल हुने हो ।

प्रेममा सेक्सको भूमिका कस्तो हुन्छ ? प्रेममा सेक्स मिसियो भने सम्बन्ध बलियो हुन्छ कि कमजोर ?

मायामा शारीरिक सन्तुष्टिले वास्तवमै काम गर्छ । मायामा सुनमा सुगन्ध हो सेक्स भनेको । कतिपयले अव्यक्त माया शारीरिक निकटताबाट व्यक्त गर्छन् पनि भनिन्छ । पुरुषहरुले फिजिकल इन्टिमेसी चाहन्छन् । यदि तपाइँहरुको सहमति छ र उमेरगतरुपमा पनि सही हिसाबमा हुनुहुन्छ, एकअर्कालाई माया र विश्वास गर्नुहुन्छ भने त शारीरिक सन्तुष्टिले सुनमा सुगन्धको काम अवश्य गर्छ ।

प्रेममा पर्दाका दुःख के-के हुन्छन् ?

प्रेममा पर्दाका दुःख त अनेकन् हुन्छन् नि । किनकि मान्छेले फूलबुट्टा भरेर सोच्छ जसरी चलचित्रमा देखाइने रोमान्सजस्तै । उपन्यासमा आफ्ना प्रिय पात्रको मीठा–मीठा कहानी पढेको हुन्छ । उसले त्यस्तै फूलफूलै सम्झन्छ मायालाई । वास्तविक रुपमा माया त्यस्तो नहुन पनि सक्छ ।

मान्छेले कति धेरै आशा गरेको हुन्छ । आशा गरेअनुसार पाउँदैन । मैले माया गरेको व्यक्तिले यस्तो गरिदेला भन्ने चाहना गर्छ । चाहना गरेअनुसार पाउँदैन कुराहरु । आफ्नै आशाले पनि ऊ निराश हुन थाल्छ ।

सम्मान भन्ने कुरा पनि रिलेसनसिपमा एकदमै ठूलो कुरा हो । मायाको अर्को नाम भनेको सम्मान पनि हो । तपाइँले आफ्नो मनबाट कति धेरै भाव व्यक्त गर्नुभएको होला । अर्को व्यक्ति कुन मूडमा हुन्छ । जीवनको कुन तनावमा हुन्छ होला । उसले त्यही अनुसार भावलाई नलिएको पनि हुनसक्छ । यस्तै जंजालमा परेर नै मान्छेले आफूलाई दुःखी महसूस गर्छ मायामा ।

सन्तान प्राप्त भएपछि श्रीमान् श्रीमतीबीच मायामा कमी आउँछ भन्छन्, तपाईंको अनुभवमा कति सत्य हो ?

मैले कतिपय साथीहरु देखेकी छु जसको बिग्रिन लागेको घरबार पनि सन्तान थपिएपछि सुध्रिएको छ । कतिपय चाहिं सन्तान भएपछि अब हामी पहिलेजस्तो लभर्स रहेनौं, वी आर जस्ट प्यारेन्ट्स भन्ने पनि देखेकी छु ।

मैले आफ्नो अनुभवभन्दा पनि अरु भुक्तभोगीबाट देखेको चाहिं दुईजना मात्र हुँदा प्राथमिकतामा रोमान्स पर्छ । सन्तान आएपछि चाहिं दुईजनाको फोकस सन्तानको भविष्यमै हुन्छ । यसमा चाहिंआफ्नो लभ र रोमान्सलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने मलाई पक्कै लाग्छ । सन्तान आफूसँग हुने भनेको केही वर्ष हो । त्यसपछि त गुँड छोडेर गैहाल्छन् । जीवन जिउने दुईजनाले नै हो । सन्तान–सन्तान गर्नुभन्दा त्यहाँनेर पनि सन्तुलन कायम गरौं, अझ सुन्दर हुन्छ होला ।

काठमाडौंको एउटा म्यारिज ब्युरोको तथ्यांक हेर्दा पार्टनरको खोजी गर्दै त्यहाँ पुग्नेको प्राथमिकता प्रपर्टी र काठमाडौंमा घर हुनुपर्ने देखियो । यसले के कुराको संकेत गर्छ ?

हाम्रो देशमा अहिले राजनीतिक अस्थिरता यसरी बढेको छ कि अब महिलाको सुरक्षा, स्वास्थ्य, रोजगारी प्रश्न बनेको छ । छिमेकी मुलुक भारतबाट नदीमा हाम्फालेर स्वदेश फर्किएका घटना पनि देख्यौं । अन्ततः मान्छे मान्छे नै हो ।

मान्छे निकै ज्याद्रो स्वभावको हुन्छ । उसको पहिलो प्राथमिकता भनेकै सर्भाइभ हुनु हो । यसले सम्बन्धलाई प्रभाव पार्नु पक्कै पनि स्वाभाविक हो जस्तो लाग्छ । मान्छेले राम्रो परिवार, पीआर र राम्रो व्यक्ति खोजोस् अरेन्ज म्यारिजमा । लभ म्यारिजमा त जसरी मन मिल्यो त्यसरी नै स्वीकार्ने हो । धनाढ्य जोडी र साथी पनि मैले भेटेकी छु । के कुरा बिर्सनु भएन भने धनमा, स्टेटसमा र शिक्षामा माया नखोजौं । माया त ठूला–ठूला महलमा भन्दा पनि गरिबको झुपडीमा अझ धेरै हुन्छ । 

ठूलो पोजिसनमा पुगेका हजारौं मान्छेको मैले इन्टरभ्यू लिएकी छु । ठूलो पोस्ट र महल छ भन्दैमा त्यहाँ माया हुन्छ भन्ने हुँदैन । मन मिलाएर समझदारीका साथ अगाडि बढ्नु नै उचित हुन्छ ।

तपाइँको सम्पर्कमा आउने श्रोताले कस्ता समस्या प्रस्तुत गर्छन् ?

पछिल्लो समय लङ–डिस्टेन्स रिलेसनसिपको एकदमै धेरै समस्या आउँछ । यस्तो खालको रिलेसनसिपमा विश्वासलाई लिएर सोधिएका प्रश्न हुन्छन् । विश्वास कसरी गर्ने, हाम्रो एकदमै झगडा बढी भएको छ भन्ने खालको, म रिलेसनसिपमा छु तर खुशी छैन भन्ने, अनि एकतर्फी प्रेमका समस्या सोधिन्छन् । के बढी भयो भने खुशी हुन्छ, के कुरा मिलेन ? मैले चाहेजस्तो किन भएन सम्बन्ध भन्ने जस्ता प्रश्न धेरै नै आउँछन् ।

तपाइँले देखेका आइडियल लभ कपलहरु को–को हुन् ?

मेरो आइडियल कपल भनेको त सुरुमा आफ्नै बुवाआमा हुनुहुन्छ । हामी जन्मिएपछि आमाबुबाले मायालाई कसरी परिभाषित गर्नुहुन्छ, कस्तो आशा राख्नुहुन्छ भन्ने महत्वपूर्ण हुुने रहेछ । मेरो ड्याडी र ममीको कुरा गर्दा उहाँहरुबीच सात वर्षको फरक छ । ड्याडी–ममी एक–अर्काको परिपूरक जस्तो लाग्छ । एकजना रिसाउँदा अर्को शान्त हुने । एकजना दुःखी हुँदा अर्कोले ऊर्जा भरिदिने ।

कहिलेकाहीं आमाबुवा झगडा गरेको, रिसारिस गरेको, विवाद गरेको देख्दा पनि रमाइलो लाग्छ । भलै आज म मायाका ज्ञानगुनका ठूला कुरा गर्छु तर, आमाबुवाको जस्तो व्यवहार देखियो, त्यो सिकाइले गर्दा नै आफ्नो सम्बन्ध धेरै सुमधुर बन्यो जस्तो लाग्छ मलाई ।

तपाइँलाई सबैभन्दा मन परेको लभस्टोरी फिल्म र पुस्तक के–के हुन् ?

मसँग एउटा किताब छ जसबाट धेरै कथा मैले सेयर पनि गरेकी छु पडकास्टमा । मलाई मन परेको पुस्तक चाहिं ‘चिकेन सुप फर द कपल्स सोल’ भन्ने छ जसलाई मैले विवाहमा उपहारस्वरुप पाएकी हुँ । यसमा राम्रा–राम्रा कुरा छन् ।

अनि मलाई ‘मेन आर फ्रम मार्स, वुमन आर फ्रम भेनस’ भन्ने पनि रमाइलो लाग्छ । केटा र केटीले मायामा कसरी भिन्न–भिन्न सोच्छन् भनेर थाहा पाउनको लागि पनि त्यो किताब एकदमै राम्रो लाग्छ । चलचित्रमा ‘द नोटबुक’ भन्ने अंग्रेजी ड्रामा एकदमै मनपरेको हो ।

तपाइँको आफ्नै जीवनको प्रेमबारे पनि अनुभव बताइदिनुस् न ।

मेरो फर्स्ट लभलाई शब्दमा कसरी बयान गरौं (हाँस्दै) । मैले मायाको बारेमा जेजति भनें, जेजस्ता पुस्तक पढें त्यसमा खुशी लाग्छ । मायाकै कुरा गरेको दुई दशक भयो । भगवानको कृपा भनौं, अहिले जुन अवस्थामा प्रेम सम्बन्धमा छु । हाम्रो लभ म्यारिज हो । तीन वर्षको सम्बन्धबाट हाम्रो बिहे भयो । नौ वर्ष भयो बिहे भएको ।

जस्तो सम्बन्धको बारेमा मैले व्याख्या गरिरहेकी हुन्छु, त्यस्तै सम्बन्ध आफूले अनुभव गर्न पाएकी छु । खुशी छु । हुन त यसमा पनि झगडा हुन्छ । हामीबीच मनमुटाव हुन्छ । यति भन्दाभन्दै समझदार भएर सम्बन्धलाई अगाडि बढाउन पाइएको छ । एकदमै कृतज्ञ छु सृष्टिकर्ताप्रति ।

भ्यालेन्टाइनमा डेमा प्रेम प्रस्ताव राख्ने सबैभन्दा राम्रो शैली के हुनसक्छ ?

स्टाइल जुनसुकै किन नहोस्, फरक पर्दैन । अस्ति भर्खरै एउटा भिडियो हेरेकी थिएँ । प्याराग्लाइडिङ गर्ने पाइलटले आफ्नी गर्लफ्रेन्डलाई माथि आकाशमा लगेर तल उहाँले ब्युटिफुल्ली सेट गर्नुभएको रहेछ । त्यहाँ ल्यान्ड गरेर प्रपोज गर्नुभयो । यसरी प्याराग्लाइडिङ गरेर होस् अथवा डायमन्ड रिङ दिएर होस् वा रेष्टुरन्टमा गीत गाएर होस् । जेसुकै तरिका किन छनौट नगर्नुस्, मनदेखि निश्चल भावले प्रपोज गर्नुहोस् । जब मनबाट गर्नुहुन्छ भने त्यो निकै सुन्दर हुन्छ । त्यसलाई कुनै प्रतिस्पर्धामा लग्न सकिंदैन । मैले चाहेको सम्बन्ध यही हो । सी इज द वान भनेर जुनसुकै तरिका किन नरोज्नुस्, हृदयदेखि प्रेम गर्नुस् ।

भ्यालेन्टाइनको राम्रो उपहार के हुनसक्छ ?

उपहार दुई प्रकारका हुन्छन् । एउटा चाहिं प्राक्टिकल उपहार । सधैंजसो उसलाई काम लाग्ने टाइपको । जस्तै एयरपड हुनसक्छ । हरेकपटक कानमा लगाउँदा मेरो श्रीमान्ले दिएको प्रिय गिफ्टजस्तो लाग्छ । एकजोर मोजा र टावेल पनि हुनसक्छ । बेडमा ओछ्याउने तन्ना पनि हुनसक्छ ।

प्राक्टिकल गिफ्ट जसले हरेक दिन तपाइँलाई सम्झना दिलाओस् । कहिलेकाहीं एक्सक्लुसिभ गिफ्ट हुनसक्छ । उसले चाहेको स्मार्टफोन, डायमन्ड रिङ, पर्फ्युम हुनसक्छ । सवारी साधन हुनसक्छ । गिफ्ट पाएपछि त सबैजना खुशी भैहाल्छन् ।

भ्यालेन्टाइन डे विदेशी कल्चर हो भन्नेलाई के भन्न चाहनुहुन्छ ?

हामीले कोभिडको प्रसंग सुरुमा निकाल्यौं । एउटा भाइरसले के पुष्टि गरिदियो भने चीनको वुहान भन्दाभन्दै कहाँदेखि कहाँ पुग्यो । संसारको कुनै कुना यसले बाँकी छाडेन । इन्टर–कनेक्टेड रहेछ नि त । मानव जाति इन्टर–कनेक्टेड रहेछ । स्वदेशी र विदेशी भन्ने कुरै नगरौं । आमाको लागि मुख हेर्ने दिन, बुवाको लागि कुसेऔंशी हुन्छ । दाजुभाइको लागि भाइटीका हुन्छ । मायाको लागि पनि ३६५ दिनमा एकदिन छुट्याइयो । माया सेलिव्रेट गर्नु न, जहिले पनि सुन्दर कुरा हो । 

ad