राधिका शाक्यको परोपकारी मन

image अनिता लामा शुक्रबार​, माघ ९ २०७७
image

गएको पौष ५ गते यता देशको अवस्था शान्त छैन । पौष ५ यता मात्र होइन, केही महिना अगाडिदेखि नै नेकपा पार्टीभित्रको आन्तरिक समस्याहरू पटक–पटक बाहिर आइरहेकै थियो । पौष ५ गते संसद् विघटनसँगै दुइ तिहाई बहुमत प्राप्त राजनैतिक दल नेकपा सडक–सडकमा र पार्टी प्यालेसहरूमा छताछुल्ल पोखिएको छ ।

साथमा विपक्षी राजनैतिक दलहरू, नागरिक समाज लगायत स्वतस्फूर्त अभियन्ता बनिएका, बनाईएका व्यक्ति, समूहहरू पनि जति सक्यो सडकलाई उछालिरहेका छन् । उसै त उछालको ब्रेकिङ र कभर न्यूज गर्ने सञ्चारमाध्यमहरू देशभित्रको यो उछालहरूलाई जतिसक्यो बेच्ने धुनमै छन् । अस्थिरताले निम्त्याउने अव्यवस्था क्षणभरमै हामीले अनुभव गर्न पाइरहेका छौं । यस्तो अवस्थामा बहुमत प्राप्त पार्टीका अध्यक्ष तथा सरकारको कार्यकारी प्रधानमन्त्रीको व्यस्तताहरूसँग अपरिचित हुने कुरै भएन एक असल र सुझबुझपूर्ण पत्नीको । यी विषयहरूबाट बेदख्खल हुन सकिँदैन । तर यस्ता विषयहरूको भुङ्ग्रोमाझबाटै आफ्नो निष्कलंक कल्याणकारी, सेवाका कामहरु सम्पन्न गर्नु उहाँको विशिष्ट स्वभाव हो । आगोको बीचमा उभिएर स्वयं आगोलाई पनि छायाँ दिनु उहाँको समर्पित चेतना र व्यवहार हो । उहाँ अर्थात् प्रधानमन्त्री केपीशर्मा ओलीका पत्नी राधिका शाक्य । जसलाई म आदरपूर्वक आमा भन्नेगर्छु । यस आलेखमा राधिका शाक्यको यी राजनैतिक परिदृश्यहरूमाझ बितिरहेको समयको यहाँ थोरै उच्चारण गरिएको छ ।

मानवीयता र परोपकारमा सकृय :

प्रधानमन्त्रीकी पत्नी हुनुको कारणले प्रधानमन्त्रीसँग सम्बन्धित सबै कुरा थाहा हुनैपर्छ, थाहा नराख्ने हो भने त्यो गैरजिम्मेवारी हो, अर्थात् प्रधानमन्त्रीकी श्रीमती हुनु प्रधानमन्त्रीको सम्पूर्ण कार्य जिम्मेवारीमाथि स्वतः अधिकारसिद्ध हो भन्ने तपाइँ हाम्रो आम बुझाई वा आम अनुमान हो भने यसको ठिक विपरित हुनुहुन्छ राधिका शाक्य । बरु आम अनुमान भन्दा भिन्न स्वरूपमा खुसुखुसु काम गर्ने अन्तरमुखी भावनाले ओतप्रोत हुनुहुन्छ ।

गत पौष ७ गते बालुवाटारमा भिन्दै चहलपहल थियो, २ दिन अगाडि मात्रै भएको राजनीतिक अदलीबदलीले देशको पूरै माहौल सनसनी थियो र बालुवाटारमा त्यसको रङ्ग विभिन्न ढङ्गबाट छरपष्टिनु स्वाभाविक नै थियो । राजनीतिक सरगर्मीको त्यही बिचमा राधिका शाक्यको व्यस्तता एक अर्कै छुट्टै परोपकारी अभियानमा थियो ।
पौष ७ गते नै बालुवाटारमा राधिका शाक्यले मानव सेवा आश्रमले सुरु गरेको सडक मानवको एक महिने राष्ट्रिय उद्धार अभियानमा खट्ने स्वयंसेवक, अभियन्ताहरुलाई हौसला सहित बिदाई गर्ने कार्यक्रमको आयोजना गर्नुभएको थियो । उक्त कार्यक्रम आयोजनाको लागि आश्रमका पदाधिकारीहरुसँगको समन्वय, सम्पर्कमा केही दिनदेखि उहाँको सकृय लगाव, व्यवस्थापनको तयारीमा निकै लोभलाग्दो समन्वय देख्न सकिन्थ्यो । अप्रत्याशित राजनीतिक उवडखावडका वातावरणले झनै व्यस्त हुनुभएका प्रधानमन्त्री केपी ओलीले पनि पत्नी राधिका शाक्यको परोपकारी र मानविय कार्यमा थोरै समयले भए पनि साथ दिन आउनुभई मानव सेवाको अभियानलाई हौसला दिनुभएको थियो ।


उक्त दिन बालुवाटारबाट राष्ट्रिय झण्डाको लोगो व्याच सहित स्वास्थ्य सुरक्षा सतर्कताका सामग्री र न्यानो गलबन्दी सहित फलफूल सगुन दिनुभई शाक्यले अभियन्ताहरु चढेको बसमै पुगी बिदाई गर्नुभएको टोली अहिले पनि राष्ट्रिय उद्धार तथा मानवता प्रवद्र्धनको एक महिने अभियानको क्रममा कर्णाली प्रदेश पुगेका छन् ।

मानव सेवा आश्रम सहयोगापेक्षित सडक आश्रीत मानवहरुको उद्धार तथा मानवता प्रवद्र्धनमा विगत ९ वर्षदेखि सक्रिय छन् र हाल देशभरि १५ वटा जिल्लामा २२ वटा आश्रमहरुमा करिव ११०० सहयोगापेक्षी मानवहरु आश्रीत छन् भने यही पौष ७ गतेदेखि सञ्चालन गरिएको एक महिने राष्ट्रिय उद्धार अभियानमा मात्रै ४०० भन्दा वढी सडक मानवहरू उद्धार गरिसकेका छन् ।

केही दिन अगाडि मात्रै समाचारमार्फत् पढ्ने ईच्छा भएको तर पढ्न नसकेको बालकको विषयमा थाहा पाउनुभएपछि आमा राधिकाले त्यसको सोधिखोजी गर्नुभयो र स्कूल सुचारु भएपछि पढाउन आफूले सहयोग गर्ने वचन दिनुभयो ।

समता स्कूलका प्रधानाध्यापक उत्तम सञ्जेलले बालबालिकाप्रति उहाँको माया, सद्भाव र असहाय, बेसाहाराहरुको लागि उहाँले गर्नुभएको सहयोगलाई जानकारी राखि राख्नुभएको थियो । उहाँले आफ्नो विद्यालय निरीक्षण तथा विद्यालयबाट उत्पादित विद्यार्थीहरूको उच्च शिक्षा अध्ययनका लागि बिदाई कार्यक्रमका लागि वहाँलाई निम्त्याउनुभयो । त्यही कार्यक्रममा भेटिएकी समता स्कूलबाटै एस.एल.सी. उत्तिर्ण विद्यार्थी अस्मिता अधिकारी विश्वकै महङ्गो र उत्कृष्ट कहलिएका स्विजरल्याण्डका आइग्लोन विश्वविद्यालयमा छात्रवृत्तिमा उच्च शिक्षा अध्ययन गर्न जानलागेको थाहा पाउनुभयो र भोलिपल्टै आफ्नै निवासमा बोलाउनुभई उनको शिक्षादिक्षा र पारिवारिक अवस्थाको विषयमा जानकारी राख्नुभयो । अध्ययनका लागि विदेशमा ल्यापटप अनिवार्य चाहिन्छ । उनिसँग ल्यापटप नभएको जानकारी पाउनुभएपछि उहाँले आफूसँग भएको साठीहजार बचत रकम उनलाई ल्यापटप खरिद गरेर लिएर जान भन्नुभयो र जाडोयामका केही न्यानो कपडा समेत दिनुभई प्रेमपूर्ण अभिभावकत्व दर्शाउनुभयो । उक्त रकम शाक्यले आफूले पाएको पेन्सनबाट जम्मा गर्नुभएको थियो ।

सर्लाहीका गरिब तथा उत्पीडित जातिका एक परिवारको छोराछोरीलाई उहाँ र प्रधानमन्त्री ओलीले केही वर्षदेखि अभिभावकत्व ग्रहण गर्नुभई विद्यालय भर्ना गरिदिनुभएको थियो । यो पुषको ठण्डीमा उक्त परिवारलाई बालुवाटार बोलाउनुभई सपरिवारकै लागि केही न्यानो कपडाहरु सहितको बन्दोबस्ती सहयोग गरि पठाउनुभएको छ ।
उहाँ भन्नुहुन्छ,– ‘मलाई गरिबी के हो, अभाव कस्तो हुन्छ सबै थाहा छ । सबै आफैले भोगेर आएकी छु । त्यसैले देशभित्र यस्तो कति छ सबैको लेखाजोखा र खोजिनीति एक्लैले गर्नसक्दिन । व्यवस्थापन गर्न पनि समस्या छ, तर सुनेपछि, देखेपछि र बुझेपछि सकेसम्म गर्नखोज्छु । मलाई यस्तो काम गर्न राजनीतिक विचार वा राजनीतिक परिवार हुनुको कारणले कुनै प्रभाव पर्दैन ।’
आफूले संरक्षण प्रदान गरीरहेको, सेवा दिएको र सेवा सहकार्यका जिम्मेवारी लिइरहेको धेरै कामहरूको नियमित फलोअप त सँधै चलिरहेको नै छ ।

कला, साहित्य मोह :
आनी छोइङ डोल्माको ‘फूलको आँखा’ मा भन्ने पुस्तक पढ्नुभएपछि आनीलाई प्रत्यक्ष भेटेरै पुस्तकको समीक्षात्मक टिप्पणी सुनाउनुभयो र पुस्तकको अंशमा भएको गुम्बा र स्कूलको खोजि गर्नुभई आनी छोइङले आफ्नो गुम्बा र स्कूलमै वहाँलाई निम्त्याउनुभयो । यी दुइ पात्रको स्नेहलीला एक लेखक र पाठकको रूपमा सुरु भयो । अहिले पनि राधिका शाक्यलाई प्रधानमन्त्री पत्नीको रूपमा होइन, एक करुणामय, मानवतामय सहृदयी अभियन्ताको रूपमा सम्झनुहुन्छ आनी छोइङ डोल्माले ।
बितेको हप्तामा सकरात्मकताको लागि कला, साहित्य सांस्कृतिक अभियान चलाइरहेको ‘जेसुम अभियान’ को भक्तपुर श्रृङ्खलामा पुग्नुभयो राधिका शाक्य । विगत २ वर्षदेखि सञ्चालित यस अभियानको विषयमा आफू जानकार रहेको तर त्यसको प्रत्यक्ष अनुभव लिन नपाएको कारणले यसपटकको श्रृङ्खलामा वहाँले प्रत्थ्यक्ष अनुभव लिनुभयो ।

भक्तपुरको दरबार क्षेत्र यसपटकको जेसुम अभियानको रोजाईमा परेको थियो । चित्रकार, साहित्यकार तथा रङ्गकर्मी सहभागी हुने यस अभियानमा चित्रकारले प्रत्यक्ष कोरेको चित्र तथा लेखकहरुले प्रत्यक्ष रचना गरेको कविताहरुको प्रस्तुति चरण अत्यन्तै उत्साहका साथ वहाँले सुन्नु, हेर्नुभएपछि पुलकित स्रष्टाहरू निकै हौसिए । भक्तपुरको स्थानीयतालाई उतारेको सबै रचनाहरु एक से एक रहेको र यसप्रकारको अभियानले निकै उत्साहित र आनन्दित बनाएको, एक अर्काप्रति स्नेह, सकरात्मक भाव र स्थानीय पहिचानलाई समेत उठाएको पाइएकोमा अभियानलाई निरन्तरता र सफलताको कामना समेत गर्नुभयो । स्थानीय कला, संस्कृति, सम्पदा र सभ्यता केन्द्रित गरी कला साहित्य सृजना तथा प्रस्तुति गर्ने एक साँस्कृतिक पहिचानको अभियान हो जेसुम यात्रा अभियान ।

स्थानीय प्रेम 

यो गत दशैं तिहारको मौसमको कुरा हो । राजनीति त त्यतिबेला देखि नै उस्तै थियो भन्दा नी हुन्छ ।

बाटो दोबाटो बजार सर्वत्र फूल, माला र दिपावलीका सामानहरुले बजारमा तिहारको रौनक छरिरहेको थियो । देशको कार्यकारी प्रमुख सम्माननीय प्रधानमन्त्री ओलीकी धर्मपत्नी शाक्य ललितपुरको दिपावली चहलपहल बजार हेर्दै बुङमतिको बलौटे कच्ची बाटोभित्र बुङ्ङ धुलो खाँदै एक किसानको घरमा पुग्नुभयो । तिहारका लागि चाहिने झण्डै दुइ दर्जन सयपत्री फूल माला र मखमली फूलको माला तथा प्रधानमन्त्रीका लागि दुबोको विशेष माला खरिद गर्नुभयो । तीन दिन अगाडि आफैले नै यी मालाहरु फोन मार्फत् अर्डर गर्नुभएको थियो । साथमा रायोको साग, काउली, बन्दाकोभी, गोलभेडा र धनिया पनि खरिद गर्नुभयो । बुङ्मतिको फराकिलो फाँटभित्र रहरलाग्दो गरी खेती किसानी गर्दै आएका स्थानीय किसान प्रेम मालीसँग उहाँले अघिल्लो वर्ष पनि तिहारमा फूलमाला खरिद गर्नुभएको रहेछ ।

स्थानीय उत्पादनलाई प्रोत्साहन दिन किसानको खेतबारीमै पुगेर फूलमाला र तरकारी खरिद गर्नु एउटा उद्देश्य थियो भने अर्को उद्देश्य स्थानीय जनजीवन, पूर्वाधारको विकास र रैथाने बाटोहरु जसले शहरसँग नजिक बनाउँछ, ती के कस्ता छन्, कति स्तर उन्नति भए वा भएका छैनन् भन्ने जिज्ञासा र जानकारी एकैपटक अनुभव लिने इच्छा भएपछि एकदिन भरिको समय लिएर उहाँ बुङ्मतितर्फ जानुभएको थियो । बुङ्मतिका किसानसँग फूलमाला र सागसब्जी खरिद गर्नुभएपछि तिहारको शुभकामना स्वरूप एक बट्टा मिठाइ पनि प्रदान गर्नुभयो । किसान परिवारको दैनिकीदिनका विषयमा, पारिवारिक विषयमा जानकारी लिनुभयो र त्यहाँबाट धुलो बलौटे बाटो छम्पी हुँदै, टीकाभैरव छिचोलियो ।

आफ्नो बाल्यकाल र किशोरीवयमा ओहोरदोहोर गरिएको टिकाभैरवको अवस्थिति देखेर निकै निराश हुनुभयो । छेउबाट बग्ने नख्खु खोलालाई फोहोरले पुरेको, धकेलिएको मन्दिरको आसपास दिशापिसाब र फोहोरको दुर्गन्ध, धुलो मैलोले छोपिएको मन्दिरको भुइँ, भित्ताको मैलो रङले खिन्न हुनुभएपछि भन्नुभयो – ‘मलाई त यो फोहोर देखिसहन मनलाग्दैन । सबैभन्दा ठूलो शत्रू मेरो लागि यही फोहोर हो ।’


शहरबाट अलिकति माथि आएपछि गाउँ र मध्यशहरको बीच दोभानमा पर्ने खोलाको सुन्दरतासँगै टक्क बसेको टीकाभैरवको मन्दिर निकै रमणीय स्थानमा छ तर मन्दिरभित्रको स्थान र आसपासको स्थानको बेवास्ता र अव्यवस्थाले दुःखद् अनुभूति गराउँछ ।
‘खुशी र आनन्दका लागि पुज्ने ठाउँ त देख्दै आनन्द लाग्ने हुनुपर्ने होइन भन्या ?’ राधिका आमाले फर्कँदा फर्कँदै फेरि भन्नुभयो । त्यहाँबाट फर्केर चापागाउँ हुँदै आउँदा बाटैमा मावली घर छिर्नुभयो । घरको आँगनमै माइजुहरु (माइजु र माइजुकी बहिनी) सुकुलमा घाम तापीरहनुभएको थियो । राधिका आमाले टाढैबाट शीर झुकाएर नमन गर्नुभयो । माइजुहरु सकीनसकी बसेको ठाउँबाट उठ्ने कोशीस गर्नुभयो र उहाँलाई अँगाल्न आउनुभयो । आमाले कोभिडका कारण दूरी कायम राख्न अनुरोध सहित घरभित्र छिर्नुभयो । 

घरभित्र आँगन, आँगनका माझमा बहाल अनि फेरि घरहरु । पुरानो नेवारी परम्परागत घरहरू यस्तो हुन्छ, उहाँले हामीलाई बताउनुभयो । आँगनमा नाति पुस्ताहरु टन्नै घाम तापेर बागचाल खेलीरहेका थिए । छिमेकीहरु ‘मलाई बिस्र्यौ कि ?’ भन्दै बोल्न आए, उहाँले कहाँ बिर्सनु फलाना होइन भन्दै बोल्नुभयो, परिवारका विषयमा जिज्ञासा राख्नुभयो । कोरोना महामारी छ, बचेर बस्नु, कोहीसँग पनि नजिक भएर नबोल्नु, सुरक्षित हुनु भनेर सचेत गराउनुभयो । फर्कँदा देखिएको चापागाउँ बजार अस्तव्यस्त थियो, बसपार्कमा हुलका हुल मानिसहरु गाडीको अगाडि पछाडि र गाडीभित्र पनि देखिन्थ्यो । बजारमा किनमेलमा त्यत्तिकै व्यस्त मानिसहरु, पैदल यात्रीहरु उस्तै भीड, फूटपाथमा पसल उस्तै बाक्लो । तर ति मानिसहरुमा आधाआधीले मास्क लगाएका थिएनन् । सामाजिक दूरी शतप्रतिशत उल्लंघन थियो ।
हामी पर्वलाई कति प्रेम गर्छौं तर आफैलाई गर्दैनौं, गर्न जानेका छैनौं । कोभिड हाम्रो उच्च साहस देखेर डराए कि ? मानिसहरुको हुल देखेर हामीले आफैलाई गिज्यायौं तर सानीटाइजर भने धसीरहेका थियौं बेलाबेला । मुखमा डबल मास्क छाडेका थिएनौं 

संस्कृति प्रेम :

ललितपुरको मौलिक, ऐतिहासीक शहर ‘खोकना’ को सुप्रसिद्ध रुद्रायणी मन्दिरसँग जोडिएको सांस्कृतिक कथ्यसँग सप्रेम जोडिन पुग्नुभयो आमा राधिका शाक्य । दशैंको सप्तमीको दिनमा र कार्तिक पूर्णिमाको दिनमा गरी वर्षमा दुइपटक हुने रुद्रायणी देवीको नृत्य खोकनाको सुप्रसिद्ध सांस्कृतिक उत्सव हो । १५ औं शताब्दीमा पाटनका राजा अमर मल्लसँग बिन्तीपत्र चढाएपछि हरिसिद्धिमा देवी नाच देखाउने अनुमति पाएपछि सोही नाचलाई १२ वर्षमा एकचोटी खोकनामा ल्याउने गरेको र १२ वर्षमा देवी ल्याउने भएकोले १२ वर्षपछि आएकी चेली भनेर खोकनाबासीले निकै आदर सम्मानपूर्वक पूजा गर्ने गरेको र देवीको यही सम्मानको लोकप्रियताले १२ वर्षमा हरिसिद्धिबाट खोकना ल्याउँदा सानो खोकना, बुङ्मति, पाटन, काठमाडौ र पछि पछि भएपछि थानकोट र कीर्तिपुरसम्म पनि देवीलाई लिएर जाने गरेकोमा अहिले करिब ५०–५५ वर्ष भएछ यसरी हरिसिद्धिबाट देवी ल्याउने प्रचलन रोकिएको । अहिले खोकनामा भइरहेको यही रूद्रायणी नाचको सांस्कृतिक उत्सवमा सहभागी हुन तत्कालीन शहरी विकास तथा भौतिक पूर्वाधार मन्त्री कृष्णगोपाल श्रेष्ठ र आमा राधिका शाक्य खोकना पुग्नुभएको थियो । साथमा नेकपाका नेता शुशिला नेपाल । कार्तिक पूर्णिमाको दिन हुने यस उत्सवमा गणेश, कुमार, महादेव, रुद्रायणी, कुमारी, ब्रम्हायणी, विष्णुदेवी, महेश्वरी, इन्द्रायणी, बाराही, काली, महालक्ष्मी, हनुमान र भैरव गरी १४ देवीदेवता र नागकन्या, विभिन्न राक्षस तथा जंगली जनावरहरुको समेत प्रतीकात्मक स्वरुपमा २६ वटा विषयमा नृत्य प्रस्तुत हुने जानकारी सहित केही समय भैरव नृत्यको अवलोकन पछि खोकनाको बिच बस्तीमा सुन्दर कलात्मकता साथ उभिएको रुद्रायणी मन्दिरको अवलोकन, वडा कार्यालयको अवलोकन पश्चात वडा अध्यक्ष रविन्द्र महर्जन सहित स्थानीय जात्रा, साँस्कृतिक पर्वका अभियन्ताहरुले उठाएको २०७२ को भुकम्पले क्षतिग्रस्त रूद्रायणी मन्दिर सहित खोकनाका पुरातात्विक महत्वका सम्पदाहरुको जिर्णोद्धार, पूनःनिर्माण शीघ्र हुनुपर्ने विषयमा चर्चा परिचर्चा पश्चात सांस्कृतिक पहिचानका लागि खोकनावासीको मेहेनत, लगाव र पूनःनिर्माणका लागि देखाएको सजगता, तदारुकताका लागि आमा राधिकाले धन्यवाद सहित आफू पनि वहाँहरुकै अभियानसँगै रहेको र सँगसँगै मिलेर खोकना मात्रै होइन यो समाज र देश बनाउन लागिपर्ने भावना अभिव्यक्त गर्नुभएको थियो ।
त्यसपछि आमा राधिका शाक्यलाई बुङ्मतिस्थित रातो मच्छिन्द्रनाथको निर्माणाधीन मन्दिरको अवलोकनका लागि पनि आग्रह भएपछि बुङ्मतिको जावलाखेल चोकमा प्रस्तरकलाको कलात्मक धुन भरिँदै गरेको निर्माणाधीन मन्दिर अवलोकन गर्न पुग्नुभयो । मन्दिर प्राङ्गणको फोहोर देख्नेबित्तिकै वहाँले मन्दिरका पुजारी लगायत वरपरका स्थानीयलाई सरसफाइका लागि अनुरोध गर्नुहुँदा एकैछिनमा भेला भएका स्थानीयबासीन्दाहरु निकै अप्ठ्यारो मानिरहेका थिए । वहाँले नजिकै डस्टविन राख्न, डस्टविनमा मात्रै फोहोर फ्याँक्न भनेर हामी त्यति पनि भन्न सक्दैनौं ? भन्दै फोहोरले रोगव्याधी निम्त्याउने मात्रै होइन हामीले सिकेको सिकाई यही हो त ? हाम्रा यी केटाकेटीले (नजिकैका केटाकेटीहरु देखाउनुहुँदै) यही सिक्दैनन्, त्यसैले आफै आफै मिलेर सरसफाई गर्न आग्रह गर्नुभयो । मन्दिरका पूजारीले तयार गरिदिनुभएको बत्ति सम्माननीय प्रधानमन्त्रीज्यूको सुस्वास्थ्यको लागि बाल्नुस् भन्नुभएपछि वहाँले प्रधानमन्त्रीको स्वास्थ्य, नागरिकको स्वास्थ्य, देशको स्वास्थ्य र समृद्धिका लागि भन्नुस् भन्नुहुँदै बत्ति जगाउनुभयो ।

रातो मच्छिन्द्रनाथलाई काठमाडौबासीले विशेषगरी नेवारी सम्प्रदायका बीचमा सहकालको देवता भनेर पुज्ने प्रचलन छ । काठमाडौ उपत्यकाभित्र मच्छिन्द्रनाथको रथयात्रा एक ऐतिहासिक सांस्कृतिक सभ्यताको रूपमा स्थापित छ ।
बाल्यकालमा आमाको साथ लागेर आइरहने बुङ्मतिको यो जावलाखेल चोकमा अनायासै पुगिएको थियो, चोकको केही पछाडि आफ्नो बूढो मावली रहेको र मावलीमा रहनुभएको केही ज्येष्ठ नातेदारको सम्झनाले वहाँ चोकपछाडि रहेको वस्तीको गल्लीभित्र थोरै अगाडि वढेपछि एउटा घरको तेस्रो तल्लामा अढिनुभयो । बूढो मावलीतर्फको माइजु (आमाको माइजु) र उहाँको परिवारसित सौहार्द भेट र छोटो संवाद भयो । यो भेटघाटले निकै लामो वर्षहरूपछि वहाँहरुको भेटघाट भइरहेको बुझ्न गाहे परेन ।
नयाँ पुस्ताको कतिपय नाताहरूसँग परिचय पनि हुननसकेको बुझिन्थ्यो । वहाँ भन्नुहुन्छ – ‘सानो छँदा आमा र मामाहरुसँग आउजाउ हुन्थ्यो, त्यसपछि पनि विभिन्न चाडपर्व, समारोहहरूमा भेटघाट हुन्थ्यो । पछिल्लो धेरै वर्षदेखि म परिवार, नातेदारहरूलाई नभेटेको त कति भयो भयो ।’

आमा राधिका शाक्यको यो बहुआयामिक सकृयताका लागि नमन !

ad