स्यालले कुखुरा चोर्न पाउँछ, कुखुराले म चोरिएँ भन्न पाउँदैन!

image कवि अर्जुन पराजुली बुधबार, पौष २९ २०७७
image

प्रतिगमनका छोराछोरीले 

प्रतिगमनलाई प्रतिगमन भन्दैनन्

'बा' भन्छन्  

जंगबहादुर हुनुहुँदो रहेछ तपाईं

जुँगा उखेल्नुभो हजुरले जुगको

थुकौं भने पनि तपाईंलाई

अपमान हुनेभो मेरो थुकको । 

मल छ भनौं– 

जनताको खेतमा मल छैन

मल छैन भनौं–

सरकारको दिमागमा

मलबाहेक केही छैन 

मेरो बस्तीमा

बाढी लागेन

पहिरो लागेन

आगो लागेन

कोरोना लागेन

तर के गर्नु हजुर

सरकार लाग्यो

पर्दा बेग्लै झ्याल उही

खोपडी बेग्लै ख्याल उही

जिब्रो बेग्लै र्‍याल उही

छाला बेग्लै स्याल उही

२०१७ साल भाग २ 

चुनाव त अब अठहत्तर सालमा हुन्छ महोदय

गन्नुस् कति वर्ष बाँकी छ, हिजो मात्रै सत्र साल आयो !