अमेरिकी संसद भवनमा आक्रमण , १ को मृत्यु, १३ पक्राउ

image आँखा संवाददाता बिहीबार, पौष २३ २०७७
image

राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवन क्यापिटल बिल्डिङभित्रै पसेर आक्रमण र तोडफोड गरेका छन् । अवस्था तनावग्रस्त बनेपछि राजधानी वासिङ्टनमा कर्फ्यु घोषणा गरिएको छ । संसद भवनभित्रै गोली लागेर एकजना महिलाको मृत्यु भएको छ ।

अमेरिकी कंग्रेसमा सांसदहरुले जो बाइडेनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला आक्रमण भएको हो । सदनभित्र बहस चलिरहेकै बेला ट्रम्प समर्थकहरु क्यापिटल बिल्डिङभित्र प्रवेश गरेका थिए । झ्याल र ढोका तोडफोड गरेरै हतियारसहित ट्रम्प समर्थक भित्र पसे । सभामुखको कार्यकक्षमै पसेर, कुर्सीमा बसेरै ट्रम्पको पक्षमा नाराबाजी भयो ।

संसद भवनभित्रै प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप समेत भयो । उक्त झडपमा प्रहरीले गोली चलाउँदा एक महिलाको मृत्यु भएको सीएनएनले पुष्टि गरेको छ । ती महिलालाई छातीमा गोली लागेको थियो । प्रदर्शनमा ६ जना गम्भीर घाइते छन् । दुई दर्जन पक्राउ परेका छन् भने सुरक्षाकर्मीले २ विस्फोटकसहित ५ हतियार नियन्त्रणमा लिएका छन् ।

वासिङ्टनमा मेयरले घोषणा गरेको कफ्र्यु सुरु भएको छ । बेलुका ६ बजेदेखि सुरु भएको कर्फ्यु आदेश बेलुका ६ बजेसम्म जारी रहनेछ । कर्फ्युको बाबजुद पनि संसद भवन क्षेत्र वरपर प्रदर्शन भैरहेको छ । राष्ट्रपति ट्रम्पले आफ्ना समर्थकले संसदमा गरेको आक्रमणलाई प्रतिरक्षा गरेको खबर आइरहेको छ ।

संसद आक्रमणको घटना लगत्तै देशवासीको नाममा सम्बोधन गर्दै राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनले यो अन्यौलता र हिंसाको अन्त्य गर्न ट्रम्पलाई आग्रह गरेका छन् । अमेरिकी लोकतन्त्रमा ट्रम्पले कू गर्ने प्रयास गरेको भन्दै उनले लोकतन्त्रमाथि हमला भएको टिप्पणी गरेका छन् । कमला ह्यारिस लगायत जर्ज बुसले समेत अमेरिकी संसदमाथिको आक्रमण लोकतन्त्रमा शोभनिय नभएको बताएका छन् ।

ट्रम्पले अमेरिकी लोकतन्त्रको अपहरण गर्ने प्रयास गरेको उनीहरुको आरोप छ । तर, ट्रम्पले चाहिँ प्रदर्शनकारी समर्थकलाई घर फर्किन निर्देशन दिइसकेका छन् । अमेरिकी जनताको भोट चोरिएको आरोप संसद भवनभित्रै नाराको रुपमा लगाइएको थियो ।

संसद भवनभित्रै स्थिती तनावग्रस्त बनेपछि सभामुख न्यान्सी पेलोसी, उपराष्ट्रपति माइक पेन्स र अन्य सांसदलाई सुरक्षित स्थानतर्फ लगिएको थियो । लगत्तै नेसनल गार्डले संसद परिसरमा लकडाउन घोषणा गरेका थिए । प्रदर्शनकारी संसद भवनभित्र तोडफोड गर्दा पनि प्रहरी मूकदर्शक बनेको देखिन्थ्यो । केही प्रदर्शनकारीले तोडफोड गर्दै प्रहरीसँग सेल्फी लिइएको दृश्यहरु थिए ।

ट्रम्पले आफ्नो हारलाई रोक्न अन्तिम अस्त्र प्रयोग गरिरहेको बीबीसीले उल्लेख गरेको छ । निर्वाचित राष्ट्रपति बाइडेनले डेलावेयरबाट राष्ट्रलाई सम्बोधन गर्दै ट्रम्प समर्थक भीडलाई पछि हट्न र लोकतान्त्रिक कार्यलाई अगाडि बढाउन आग्रह गरेका छन् ।

१२ इलेक्टोरल मत प्रमाणिकरण गरेर स्थगित भएको संसदको संयुक्त बैठक कतिबेलादेखि सुचारु हुने निश्चित छैन । संसद भवनबाट सबै प्रदर्शनकारीलाई बाहिर निकालिएको छ । अहिलेसम्म जम्मा २ वटा राज्यको मात्र इलेक्टोरल मत प्रमाणिकरण गरिएको छ । अलाबाम र अलास्काको मत प्रमाणिकरण गरे लगत्तै एरिजोनाको मत प्रमाणीकरण गर्ने रिपब्लिकनहरुले असहमति जनाएका थिए ।