यो घान्द्रुक गाउँको कथा हो

image
image विकास राेका मगर २ महिना अगाडी

पोखरा । गाउँको सिरान बाटो हुँदै तीन जना पदयात्री उकालो उक्लिरहेका छन् । माघ १३ गतेको साँझ उनीहरूलाई छोमरुङसम्म पुग्नु छ । उनीहरूको गन्तव्य छ– अन्नपूर्ण बेस क्याम्प ।

गाउँ पार गर्नै लागेको बेला विपरीत दिशाबाट एक हूल खच्चड आउँछन् । घाँटीको घण्टीबाट लयात्मक संगीत निकाल्दै गाउँ ओर्लंदै गरेका खच्चडको हूल देखेपछि ती पदयात्री टक्क रोकिन्छन् । क्यामेरा तेस्र्याउँदै फोटो खिच्छन् । थकानले भरिएको उनीहरूको अनुहार खुशीले पुलकित हुन्छ ।

गुजुमुज्ज परेर पूर्व फर्किएको ढुंगेनी बस्तीलाई बिहानै घामको न्यानो किरणले ब्युँझाउन आउँछ । झ्यालको पर्दा विस्तारै खोल्दा आँखामा उज्यालो उभिन आइपुग्छ, माछापुर्च्छे सहितको अन्नपूर्ण हिमशृंखला ।

साँझमा गाउँकै रोधीघरमा रोधी चल्छ । स्थानीय गुरुङ–गुरुङसेनी मौलिक पोशाकमा ठाँटिएर कुममा कुम जोडेर नाच्छन् । क्याम्पिङ चल्छ, अँगेनामा बसेर आगो ताप्दै तातो चिया, नारेपा (स्थानीय कोदोको रक्सी) को चुस्की लिंदै पाहुना चिसो भगाउँछन् ।

शहरको कोलाहलबाट भाग्न यहाँ आइपुगेका जो–कोही पाहुना मन्त्रमुग्ध हुन्छन्, विस्तारै आङ तन्काउँदै चिच्याउँछन्, ‘आहा ! कस्तो राम्रो गाउँ ।’

यो घान्द्रुक गाउँको कथा हो ।

गुरुङ संस्कृतिका लागि परिचित ठाउँ बनेको घान्द्रुक गाउँ कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्छ । ढुंगैढुंगा बिछ्याएर परम्परागत रूपमा बनेको घान्द्रुक गाउँलाई स्थानीय पनि ‘ढुंगेनी गाउँ’कै रूपमा चिनाउन मन पराउँछन् । यो चर्चित पदमार्ग अन्नपूर्ण सर्किट पदयात्रा, घोरेपानी, पुनहिल, अन्नपूर्ण बेसक्याम्प आदिको प्रवेशद्वार पनि हो ।

गाउँका बारीभरि हरिया सागसब्जी उम्रिएका छन् । ती उब्जनी पाहुनाकै लागि हो । पर्यटकको आगमन बढ्दै गएपछि गाउँका सुक्खा पाखाबारी यसरी नै हरिया बन्न थालेका छन् ।

स्थानीय पर्यटन व्यवसायी किसम गुरुङ भन्छन्, ‘अरू खान्की पोखराबाट ल्याउनु परे पनि हरिया तरकारी सकभर गाउँकै प्रयोग गर्छौं । यही नै यहाँका होटलहरूको चिनारी हो ।’

गुरुङ घान्द्रुक पर्यटन व्यवस्थापन समिति अध्यक्ष समेत हुन् ।

गाउँ फर्किरहेका युवा

स्थानीय कृष्ण गुरुङले १२ वर्ष कोरियामा खोरिया खने । लाहुरे बाको छोरोले जीवनको ऊर्जाशील समय परदेशमै बितायो । लामो समय परदेशमा बिताएर गाउँ फर्किएपछि पाहुनाको लर्को देखे । उपाय सोचे, ‘गाउँमै हजार सम्भावना रै’छ । अब यहीं केही गर्नुपर्छ ।’

परदेशमा पसिना बगाएर जोडेको कमाइले गाउँमै लगानी गर्ने सपना साँचे । चार वर्षअघि करीब ४ करोड रुपैयाँको लगानीमा होटल खोले र नाम दिए, ‘वल्र्ड भिलेज होटल ।’ गाउँमा पर्यटकको घुइँचो लागेसँगै सम्भावना देखेरै आफू विदेशको यात्रा टुंग्याएर गाउँ फर्किएको उनी सुनाउँछन् ।

गुरुङ भन्छन्, ‘हाम्रो परिवारमा यसरी व्यवसाय गर्ने कोही छैन । सबै लाहुरे ब्याकग्राउन्डकै हो । तर, गाउँमै सम्भावना देखेपछि फर्किएँ । होटल पनि खोलें । पछुताउनु परेको छैन ।’

अरू ठाउँका युवा विभिन्न बहानामा गाउँ छोड्ने र उतैबाट शहरतिर पलायन भइरहेको बेला घान्द्रुकमा भने उल्टो छ । कृष्णजस्तै घान्द्रुकका अधिकांश युवा अहिले गाउँ फर्किएका छन् । र विभिन्न पर्यटन व्यवसायमा लगानी गर्न हौसिएका छन् । गाउँकै स्थानीय पर्यटन व्यवसायमा लाग्दा पर्यटनमा दिगो विकास हुने स्थानीय पर्यटन व्यवसायीको दाबी छ ।

‘यहाँको परम्परा भनेको लाहुरे संस्कृति हो । पहिले भर्ती भएर जाने, त्यसपछि उतै सेटल हुने प्रचलनले कुनैबेला यो गाउँ पूरै सुनसान बनेको थियो’ किसम गुरुङ सुनाउँछन्, ‘तर अहिले अवस्था फेरिएको छ । विदेश गएका युवाहरू पनि आफ्नो बसाइँ छोट्याएर सकेसम्म गाउँमै लगानी गर्न आउँछन् ।’

उनी कुनैबेला गाउँका अधिकांश घर बाह्य कुरुवाले धानेको बताउँछन् ।

कमी हुँदैनन् पर्यटक

कोरोना महामारी शुरु भएसँगै २०७६ चैत ११ गतेबाट सरकारले लकडाउन घोषणा ग¥यो । सोही समयबाटै बन्द भएको घान्द्रुक करीब १० महिनापछि मात्रै खुल्यो । मंसिरको पहिलो साताबाट लकडाउन खुले पनि घान्द्रुक पाहुनाका लागि गत माघ १ गतेबाट खुलेको हो । लकडाउन अवधिभर गाउँ ठप्पै रह्यो ।

कोरोना महामारीका कारण लामै समय बन्द रहेको घान्द्रुक गाउँ फेरि जुर्मुराउन थालेको छ । लामो समयपछि खुलेको घान्द्रुक गाउँमा अहिले आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको पर्यटन व्यवसायीहरू बताउँछन् ।
अहिले दिनमा १५० जनासम्म आन्तरिक पर्यटक आइरहेको घान्द्रुक पर्यटन व्यवस्थापन समिति अध्यक्ष किसम गुरुङ बताउँछन् ।

लकडाउन खुले पनि कोरोना महामारी मत्थर भइनसकेकाले विदेशी पर्यटकको उपस्थिति भने नरहेको गुरुङले जानकारी दिए । ‘पाहुनाका लागि घान्द्रुक खुला भएपछि आन्तरिक पर्यटक उल्लेख्य मात्रामा आइराख्नु भा’छ । होटलहरू खाली राख्नुपर्ने अवस्था छैन ।’

लामो समयको लकडाउन पछि पनि फेरि घान्द्रुकको पर्यटनमा सुखद ‘रिभाइभ’ भइरहेको पर्यटन व्यवसायी कृष्ण गुरुङ सुनाउँछन् । ‘कोरोना महामारीले करिब १० महिना नै हामी बन्द रह्यौं । तर, अहिले पनि होटल खाली राख्नु परेको छैन । सुखद अनुभव नै गरिराखेका छौं’, उनले भने ।

ढुंगेनी गाउँ घान्द्रुकमा अहिले साना तथा ठूला गरेर करीब पाँच दर्जन होटल सञ्चालनमा छन् । ती होटलहरूले एकै रातमा करिब १२०० जनासम्मलाई धान्न सक्ने घान्द्रुक पर्यटन व्यवस्थापन समिति अध्यक्ष किसम गुरुङले जानकारी दिए । ‘पहिले यहाँसम्म आउन पोखरादेखि दुई दिन लाग्थ्यो । तर, अहिले चार–पाँच घण्टाको गाडी यात्राबाटै यहाँसम्म आइपुग्ने भएपछि पाहुनाको संख्या पनि बढेको हो’, उनले भने ।

नयाँ सुविधासम्पन्न होटलहरू बन्ने क्रममै रहेको र ती होटल पनि सञ्चालन भए पाहुना राख्न सक्ने क्षमता अझै बढ्ने गुरुङको भनाइ छ । घान्द्रुक होमस्टेबाट नभई क्याम्पिङबाट चलेको हुनाले त्यही अनुरुप नै होटलहरू खुलिरहेको उनले जानकारी दिए ।

मौलिकता हराउँदै, ब्युँझाउँदै !

लाहुरे परम्पराबाट निर्देशित घान्दु्रकेमा २५ वर्षअघि किसम गुरुङले ‘गुरुङ कटेज’ खोल्दा सबैले उनलाई ‘बौलायो’ भनेका थिए । यातायातको सुविधा नभएको र एकाधबाहेक पर्यटकको सम्भावना नभएको ठाउँमा होटल खोल्न थालेपछि आफन्तले त्यस्तो आरोप लगाएका थिए ।

तर, गुरुङले हार मानेनन् । पोखराबाटै सामान ओसारेर घान्द्रुकमा होटल बनाइछाडे । ‘त्यतिबेला पोखराबाट यहाँ सामान ल्याएर होटल खोलेको थिएँ । त्यो पैसाले पोखरामा घरजग्गा जोडेको भए तीन–चार वटा हुन्थे’ पुराना दिन सम्झिन्छन्, ‘पछिपछि पाहुनाहरू बढ्दै गएपछि भने अरूहरूले पनि खोल्न थाले ।’

शुरुशुरुमा पदमार्गका लािग चर्चित बनेको ठाउँमा आजभोलि मोटर धुलो उडाउँदै गाउँसम्म पुग्छ । ढुंगेनी गाउँ भनेपनि अधिकांश घर अब अत्याधुनिक बन्न थालेका छन् । पदमार्गमै मोटरबाटो बनेपछि धुवाँधुलोले हैरानै बनाएको पदयात्रीको गुनासो आइरहन्छ ।

मोटर बाटो पुगेसँगै शहरी संस्कृति गाउँ छिर्न थालेको छ । गुरुङ इतिहास बोकेको गाउँमै मौलिकता हराउँदै गएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति अध्यक्ष गुरुङ स्वीकार्छन् । भन्छन्, ‘यहाँ व्यापार व्यवसाय गर्ने अहिले युवा पिंढीका धेरै छन् । उनीहरूले नयाँ शैली अपनाउन थालेर पनि मौलिकता गुम्दै गएको हो कि ?’

पुराना शैलीमा भवन बनाउन ढुंगा र काठ धेरै लाग्ने भएर पनि नयाँ शैली गाउँमा भित्रिरहेको गुरुङ सुनाउँछन् । ‘निजी जग्गामा यस्तो बनाऊ, त्यस्तो नबनाऊ भन्नु पनि भएन । पुरानै शैलीमा बनाउँदा समय र परिश्रम पनि धेरै लाग्ने भएर नयाँ शैलीमै घर बन्दैछन्’ उनले भने, ‘विकास सँगै हरेक चिज परिवर्तन हुँदै जान्छन् । यसलाई नकार्न पनि सकिंदैन ।’

अधिकांश गुरुङ र केही दलित बस्ती भएको घान्द्रुक गाउँले पछिल्लो समय मौलिकता गुमाउँदै गएको आरोप आउन थालेपछि अब भने पुरानै शैलीमा फर्किन प्रयत्न गरिरहेको किसम गुरुङ बताउँछन् ।

‘अब हामीलाई पनि विस्तारै पुरानै ढाँचामा फर्किनुपर्छ भन्ने लागेको छ । त्यही अनुरुप कम्तीमा घरको छानो पुरानै ढुंगे शैलीमा राख्नुपर्छ भनेर भन्न थालेका छौं’ उनले भने, ‘यसबाट केही सुखद नतिजा पनि आइराखेको छ ।’

तस्वीर सौजन्य: युनिश गुरुङ/सचिन मल्ल

ad