नागरिक एप्स के हो ? कसरी प्रयोग गर्ने ? (भिडियोसहित)

image आँखा संवाददाता शनिबार, माघ ३ २०७७
image

काठमाडौँ । नेपाल सरकारको विगत तीन वर्षदेखिको डिजिटाइजेशन अभियान अन्तर्गत नागरिक एप्स औपचारिक रुपमा शुरु भएको छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले आज मन्त्रालयमा आयोजित समारोहमा ‘नागरिक एप्स’को शुभारम्भ गर्नुभएको छ ।

नेपाल सरकारबाट प्रदान गरिने विभिन्न सेवालाई सरल, पारदर्शी र प्रभावकारी बनाउन सो एप्स परीक्षणका रुपमा ल्याइएको हो ।

सरकारको डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत यो महत्त्वपूर्ण कार्यक्रम भएको जनाइएको छ । सुशासन, विकास र समृद्धिका लागि सरकारले डिजिटल नेपालको दुरदृष्टि राखेको छ ।

सरकारको २०७५/०७६ को नीति तथा कार्यक्रममा परिकल्पना गरेको नागरिक एप्स डिजिटल नेपाल अन्तर्गतको एउटा महत्त्वपूर्ण कार्यक्रम थियो ।

नागरिक एप्समार्फत राजस्व, यातायात, ट्राफिक, लोकसेवा जस्ता निकायबाट प्राप्त हुने सेवाहरू कार्यालयसम्म नगई घरमै बसेर मोबाइल एप्समार्फत सूचना लिने र सेवा प्रदान गर्ने सुविधाको व्यवस्था गरिएको छ ।

नागरिक एपमार्फत् हेलो सरकार तथा अन्य सरकारी निकायमा गुनासो दर्ता गर्न र गुनासोको सुनुवाइ भए/नभएको समेत जानकारी प्राप्त गर्न सकिने छ ।

यो एप्स सजिलैसँग सबै नागरिकले प्रयोग गर्न सक्नेछन् भने सरकारका विभिन्न निकायसँग नागरिकको पहिचान गर्न सकिने डिजिटल विवरणहरू रहेका छन् ।

जस्तैः गृह मन्त्रालयसँग २ करोड १५ लाख नागरिकको विवरणहरू रहेका छन्, निर्वाचन आयोगसँग १ करोड ५५ लाख नागरिकको फोटो र औँठाछापसहितको विवरण रहेका छन् भने राहदानी विभागसँग ६५ लाख नागरिकको विवरण रहेको छ यी तीनै निकायहरूको विवरणलाई प्रयोग गरी नागरिकको डिजिटल विवरण राखिएको छ भने आगामी दिनमा राष्ट्रिय परिचयपत्रलाई पनि समेटिने तयारी भएको जनाइएको छ ।

यसरी लिएको डाटाहरू राष्ट्रिय सूचना प्रविधि केन्द्रको डाटा सेन्टरमा सुरक्षित रहने छन् ।

राष्ट्रिय परिचय पत्र थप भएपछि बायोमेट्रिक सुरक्षा प्रणाली पनि थपिने छ । यसरी प्राप्त विवरणहरू सबै एप्समा रहने भन्ने होइन विभिन्न सरकारी निकायसँग भएका विवरणहरू जोडेर एप्सले काम गर्ने जनाइएको छ ।

यसको लागि सकेसम्म आफ्नो नागरिकता, राहदानी र मतदाता परिचय पत्र अरूलाई नदिई आफैसँग सुरक्षित राख्न, आफूले प्रयोग गरेको सिम कार्ड अरूको नाममा दर्ता भए आफ्नो नाममा नामसारी गराउन समेत आग्रह गरिएको छ ।

नागरिक एप्सका फाइदाहरू:
-यो एप्स प्रयोग गर्दा समयको बचत हुनेछ ।
-सरकारी काम गर्दा कागजातहरू बोकेर हिँड्नु पर्ने र बुझाउनु पर्ने जस्ता झन्झट हट्ने ।
-खर्च जोगिने ।
-पारदर्शिता बढ्ने ।
-भ्रष्ट्राचार न्यूनीकरण गर्न सघाउ पुर्‍याउने ।

नागरिक एप्स कसरी प्रयोग गर्ने
-आफ्नो नाममा रहको मोबाइलबाट यो एप्स सञ्चालन गरी प्रयोग गर्न सकिने छ ।
-सबभन्दा पहिला प्ले स्टोरमा गई नागरिक एप्स डाउनलोड गर्ने ।
-भाषा छनौट गर्ने ।
-एप्समा आफ्नो नाममा रहेको मोबाइल नम्बर राख्ने ।
-मोबाइल नम्बर राखेपछि ६ अङ्कको भेरिफिकेसन कोड आउँछ त्यस कोडलाई राख्ने ।
-त्यसपछि नागरिकताको विवरण/मतदाता परिचयपत्र/राहदानी विवरण मध्ये एकको विवरण भर्ने त्यसपछि सेवा सञ्चालन हुनेछ ।

नागरिक एप्स के हो ? हेर्नुहोस् भिडियो :https://www.youtube.com/watch?v=zDHxHEext3U