‘हिजोका क्रान्तिकारीहरू मण्डलेभन्दा तल्लो तहमा झरे’: नारायण ढकाल

image
image आँखा संवाददाता ३ महिना अगाडी

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि लेखकवृत्तमा पनि त्यसको चर्चा चुलिएको छ । लेखकहरूले ट्विटर र सामाजिक सञ्जालमार्फत यो कदमको सख्त विरोध जनाइरहेका छन् । प्रगतिशील खेमाका लेखक नारायण ढकाल प्रधानमन्त्रीको यो कदमले मुलुक अस्थिरतातर्फ जाने बताउँछन् । आख्यानकार ढकालको पञ्चायती व्यवस्था विरुद्ध विभिन्न आन्दोलनमा सक्रिय भूमिका थियो । उनको लेखनका मुद्दाहरूले कम्युनिष्ट आन्दोलनलाई समर्थन गर्थे । लेखन सँगसँगै राजनीतिमा पनि सक्रिय ढकाल २०५३ सालमा तत्कालीन एमालेबाट सांसद समेत बने । सत्तामा पुगेपछि कम्युनिष्टहरूको चरित्र बदलिएको अनुभूति भएपछि पछिल्लो समय राजनीतिबाट टाढिएका उनी पूर्णकालीन लेखक नै बने । यिनै आख्यानकार ढकालसँग अहिलेको समसामयिक राजनीतिक परिस्थितिको विषयमा गरेको कुराकानी:

प्रधानमन्त्रीले संसद विघटन गरेको कुरालाई कतिपयले ‘कु’ को संज्ञा दिइरहेका छन् । तपाईं त पूर्व सांसद पनि हुनुहुन्छ । तपाईंले प्रधानमन्त्रीको यो कदमलाई कसरी हेर्नुभएको छ ?

२०४७ को संविधानले बरु प्रधानमन्त्रीलाई विशेष अधिकार दिएको थियो, त्यस किसिमको अधिकार नयाँ संविधानमा नराख्ने भनेर सबैको सहमति थियो । त्यो सहमतिमा सबैभन्दा धेरै कराउने वक्तामा वर्तमान प्रधानमन्त्री ओली र अहिलेका राष्ट्रपति पर्थे । उनीहरूले यस्तो व्यवस्थाले अस्थिरता निम्त्याउँछ भन्थे । तर, अहिले प्रधानमन्त्रीले संविधानमा प्रावधान नै नभएको अधिकार लिएर संसद विघटन गरे । संविधानविद्हरूले यसलाई राजनीतिक ‘कु’ भनेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले २०५९ सालमा शेरबहादुर देउवालाई प्रयोग गरेर ‘कु’ गरेका थिए । त्यही किसिमको अन्तरवस्तुको प्रक्रियातिर अहिले गएको जस्तो लाग्छ ।

के प्रधानमन्त्रीले अब तोकिएको समयमा चुनाव गराउलान् त ?

चुनाव हुने कुरामा मलाई विश्वास छैन । चुनावको लागि संसद विघटन गरेको हो जस्तो लाग्दैन । खासमा हाम्रो संविधान छिमेकीलाई मन नपरेको संविधान हो । अहिले बाह्य शक्तिहरूले संविधानमाथिको स्वामित्वमा हस्तक्षेप गरिरहेका छन् । त्यसमा पनि ओलीका राजनीतिक चरित्रहरू बुझिनसक्नुका छन् । जस्तो कि उनले जे बोलिरहेका छन्, एकदमै सत्य जसरी बोलिरहन सक्छन् । तर भित्र अर्कै खेलिरहेको हुन्छ । उनी त्यस्ता कलाकार हुन् ।

उनको संगत लामो समय गरियो । व्यक्तिगत रूपले उनीप्रति मेरो कुनै किसिमको द्वेष छैन । किनकि मभन्दा अघिल्लो समयमा निकै धेरै दुःख पाएर नेपाली कम्युनिष्ट आन्दोलनमा निकै समय जेल बसे । तर विगतको इतिहास हेर्ने हो भने उनी लोकतन्त्रवादी पनि हैनन् । किनकि लोकतन्त्रवादीले विरोध गर्नलाई सन्तुलन गर्छ । अल्पमतमा भइयो भने सामना गर्छ । संघीयताको त उनी भयंकर विरोधी हुन् ।

गणतन्त्रको विरोधी भन्ने कुरा पनि प्रष्ट छ । २०६२/६३ को जनआन्दोलनमा उनी कतै निस्किएनन् । भाषण पनि गरेनन् । त्यतिबेला गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका पुगिंदैन भन्थे । त्यसकारण अहिलेको संविधानका जम्मै कन्टेन्टहरूको उनी विरुद्धमा छन् । इतिहासले त उनलाई मूल्यांकन गरिसकेको छ । उनले यस्तो किसिमको खतरनाक र अनैतिक काम गरेका छन्, एउटा नैतिकवान राजनीतिज्ञले राजनीतिमा गर्न नहुने काम हुन् । त्यसकारण यो मुलुकलाई उनले अस्थिरतातिर लैजाने काम गरे ।

अविश्वासको प्रस्ताव ल्याएर काम गर्न असहज अवस्था सिर्जना गरेको प्रधानमन्त्री ओलीको गुनासो थियो नि ?

पाँच वर्षसम्म एउटा पार्टीलाई दिएको त हो । संसदमा अविश्वासको प्रस्ताव त सामना गर्नुपर्‍यो नि एउटा राजनीतिज्ञले । आफू अल्पमतमा परे पनि नेता भइरहने ? अविश्वासको प्रस्ताव ल्याउनै नपाउने ? एउटा गतिलो राजनीतिज्ञले त्यो सामना गर्छ । राष्ट्रपतिले महाभियोगको सामना गर्नुपर्यो नि ! संसदीय दलको अल्पमतमा परेको हो भने उहाँले छाड्नुपर्दथ्यो । अर्को मान्छे प्रधानमन्त्री भएको भए देश बिग्रन्थ्यो । संविधानमाथि डामाडोल हुन्थ्यो ? संवैधानिक प्रक्रिया भित्र नै कामहरू हुन्थ्यो नि त ! अहिले जे भइरहेको छ एकदमै नराम्रो भयो ।

यो अवस्था सिर्जना गर्न प्रचण्ड-माधव पक्षको पनि हात होला नि ?

अहिलेको केसमा उनीहरूको पनि कमजोरी छ । उनीहरू पनि गलत त छन् । तर, प्रधानमन्त्रीको अपराधसँग उनीहरूलाई जोड्न मिल्दैन ।

मुलुकमा फेरि अस्थिरता आउने तपाईंको मूल्यांकन हो भने अब लेखकहरूको भूमिका यसमा के हुन्छ ?

प्रगतिशील विचार राख्ने लेखकहरूको शब्द र कर्ममा एकता हुन्छ । शब्दमा नै उनीहरूको शक्ति हुन्छ । कर्मको कुराचाहिं कुनै प्रतिरोध गर्ने, विरोध गर्ने वातावरण हुँदा त्यस वातावरणमा लेखकहरू सडकमा पनि निस्कन सक्छन् । त्यो सांकेतिक हुन्छ । त्यसको शक्ति धेरै ठूलो हुँदैन । किनकि लेखकहरूको संख्या पनि धेरै सानो हुन्छ । मूलतः उनीहरूले शब्द शक्तिमै विश्वास गर्ने हो ।

एक समय तपाईंहरूले बुटपालिस आन्दोलन चलाउनुभयो । त्यो पञ्चायतविरुद्धको आन्दोलन थियो । हिजो २०६२/६३ मा पनि लेखकहरूले रचनात्मक आन्दोलन गरेकै हुन् । यस्ता आन्दोलनहरूको फेरि आवश्यकता परेको हो त ?

अझै केही सम्भावना छन् । यदि धेरै मिलेर गरिएको षड्यन्त्र होइन भने प्रधानमन्त्री र राष्ट्रपतिको गलत यात्रालाई चेक गर्ने एउटा ठाउँचाहिं बाँकी छ । त्यो सर्वोच्च अदालत हो । सर्वोच्च अदालतले संसदको पुनर्स्थापना गरिदियो भने यो कोर्समा ब्रेक लगाउने सम्भावना छ । तर, सर्वोच्च अदालतको इतिहास हेर्दा सर्वोच्चले कहिले निकै राम्रो र कहिले अत्यन्तै विवादास्पद काम पनि गरेको छ ।

यो त संविधानलाई च्यातचुत नै गरेको हो । २०१७ सालमा राजा महेन्द्रले धारा ५५ लगाउँदा तर्क गरेका थिए । त्यो प्रतिगामी तर्कले मुलुकलाई ३० वर्ष अँध्यारोमा राख्यो । संविधानको अक्षर र मर्ममा केही तर्क थियो । अहिलेको स्थिति कतिसम्म मिल्छ भने राजा ज्ञानेन्द्रले संविधानको जुन धारा टेकेर आफ्नो हातमा सत्ता लिएर प्रतिगमनको कोर्स गरे नि त्योसँग एकदमै मिल्दोजुल्दो छ । अब सर्वोच्चले यसलाई करेक्सन गर्‍यो भने फेरि फर्किएला । त्यो कोर्समा सर्वोच्चको निर्णय नआउन्जेल केही भन्न सकिन्न ।

हिजोको समय संविधानको निम्ति जुन संघर्ष गरिएको थियो; संघर्ष गर्ने बेला तपाईंको चाहना पनि कम्युनिष्ट सत्तामा आए मात्र संविधानको संरक्षण हुन्छ भन्ने थियो । संविधानका लागि गरिएका संघर्ष प्रधानमन्त्री र राष्ट्रपतिले चालेको यो कदमले गर्दा खेर गएका हुन् त ?

खेर गएका छैनन् । कुनै पनि संघर्ष खेर गएको हुँदैन । फ्रेन्स रेभुलेसन भयो । त्यसभन्दा पछि लामो समयसम्म प्रतिगमनहरू भइरहे । एउटा बेलामा एउटा क्रान्ति लिएर परिवर्तनले स्थापित गरेको चेतना मर्दो रहेनछ । जसले गर्दा फ्रान्सिसी क्रान्तिका मूल्यहरू आज पनि हाम्रो वरिपरि जीवित छन् । गुञ्जायमान छन् । हिजो हामीले गरेका कुरा पनि इतिहासमा अभिलेख हुन्छन् । मान्छेको चेतनामा गुञ्जायमान भइरहन्छन् । ठूला ठूला विद्रोह छिटो पनि भएका छन् । विद्रोह आउँदा पार्टी हिसाबकिताबले नआउला । कुनै एउटा समूह, समुदाय, जमातले त्यसलाई ल्याउलान् । तर, गलत कुरालाई त्यसले लामो समयसम्म स्थापित गर्दैन ।

हिजो जो एउटा सपना देखेर क्रान्तिमा होमिएका प्रगतिशीलहरू तपाईंका आख्यानमा केन्द्रीय पात्र छन् । आख्यानमा केन्द्रीय पात्र बनाएका ती पात्रलाई पछि तपाईंले सत्तामा पनि देख्नुभयो । हिजो क्रान्ति गर्दै गरेका आख्यानका पात्रलाई सत्तामा देख्दा तपाईं कस्तो पाउनुहुन्छ ?

मैले हिजो देखेका क्रान्तिकारीहरूलाई मण्डले भन्दा तल्लो तहमा देखेको छु । हिजो जो क्रान्तिकारीहरू थिए, मैले घृणा गर्ने पञ्चहरूभन्दा पनि तल्लो दर्जामा पुगेका छन् । त्यसैले देशमा फेरि अर्को कोर्स शुरू गर्नुपर्ने बेला आएको छ । क्रान्तिको प्रक्रियालाई एक किसिमको तहबाट उठाउनुपर्छ ।

अहिले मान्छेको चेतनाको स्तर, स्वाभिमान बढेको छ । युवा शक्तिहरू लेख-पढ गरेर चारित्रिक रूपमा पनि उन्नत युवा शक्ति बढिरहेका छन् । पञ्चायतको विरुद्धमा हामी लागेको जस्तो त लाग्नुपर्दैन । तर त्योभन्दा अर्को अवस्थाबाट पनि परिवर्तनको कुरा शुरू हुन्छ नै । जसरी अहिले देशव्यापी रूपमा आन्दोलन भइरहेको छ । त्यसले एउटा आधार त लिइहाल्ने नै छ ।

यही बेला राजावादीहरू पनि राजतन्त्रको माग गर्दै सडकमा ओर्लिरहेको अवस्था छ । अहिले सत्तामा भएको कम्युनिष्ट सरकारबाट पनि जनता निराश छन् । प्रतिपक्षी दलबाट पनि नयाँ आशा देखिएको छैन । अब राजनीतिक दृश्य कस्तो देख्नुहुन्छ ?

राजतन्त्रलाई विश्वको इतिहासले नै ‘रिजेक्ट’ गरिसकेको अवस्था हो । कतिपय देशमा राजतन्त्र भए पनि त्यो राजतन्त्रको संस्थागत प्रतीकका रूपमा मात्र छ । त्यहाँ पहिलेको जस्तो राजतन्त्र छैन । हाम्रो इतिहास पनि त्यस्तै किसिमको थियो । अहिले कमजोर राजतन्त्र ल्याउँछु भनेर राप्रपा हिंडिरहेको छ । ‘राजा आऊ देश बचाऊ’ भन्नेहरू पनि छन् ।

मैले केही दिन अघि कमल थापाको अन्तर्वार्ता सुनेको थिएँ । ‘राजा आऊ देश बचाऊ हैन । जनता आऊ देश बचाऊ हुनुपर्‍यो र राजालाई ल्याउने कुरा हो’ भनेर उनले भनेका थिए । राजतन्त्रको पुराना हिसाबकिताबको पुनर्स्थापनाको सम्भावना म देख्दिनँ । त्यो भयो भने इतिहास उल्टो बाटो हिंड्यो भन्ने नै हुन्छ । इतिहास उल्टो बाटो हिंड्दैन भन्ने नि हैन ।

विश्वका केही देशमा क्रान्तिपछि पनि कतिपटक प्रतिगमन भएका थिए । फ्रान्स एउटा उदाहरण हो । तर त्यो लामो र टिकाउ हुँदैन । अहिले एउटा सामान्य जनताले राष्ट्रपति हुने अवस्था आयो । तर, सामान्य जनताको छोरी महारानी हुन खोजेको देखियो । महारानी हुने ट्रेण्ड उनमा पहिलेदेखि नै देखिएको हो ।

सम्मानित राष्ट्रपतिको संस्थालाई उनले बिगार्ने काम गरिन् । त्यसैले उही रूपमा राजतन्त्र फर्किएला जस्तो पनि लाग्दैन । ‘राजा आऊ देश बचाऊ’ नबुझेर भनेका हुन् । त्यतातिर नजान मेरो अनुरोध छ । तर, स्वार्थतिर जान लागेका मान्छेलाई के भन्नु छ र ! अन्तर्राष्ट्रिय स्तरबाट आयो भने पनि राजसंस्था टिकाउ हुँदैन ।

हिजो सत्तामा कम्युनिष्ट आयो भने परिवर्तन आउँछ भन्ने विश्वास थियो । तर, अहिले त्यो विश्वास मरेको हो त ? के अब फेरि पनि जनताले कम्युनिष्टलाई नै सत्तामा देख्न चाहन्छन् त ?

वास्तवमा जो सत्तामा आएका छन् यिनीहरूलाई विश्वासघातीका रूपमा लिनुपर्छ । यो मोडलका अनैतिक र साँघुरा विचारका सत्तामा आएर पनि जनतालाई भलो हुँदैन । सत्तामा साँचो समाजवादीहरूको त भविष्य छ । त्यो हुनु भनेको विराट मानवता हुनु हो । हामी विराट मानवतालाई चाहन्छौं । यो एउटा लेखकको मात्र हैन, सामान्य मानिसको पनि सपना हो ।

तपाईंको यो सत्ताप्रति कत्तिको आशा थियो त ?

मैले चुनावको बेला यिनीहरू सुध्रन्छन् कि भन्ने आशा गरेको थिएँ । किनकि यिनीहरूले जुन बेला एकता गरे, अब यिनीहरूले जनतालाई स्थिरता दिन्छन् र आफ्ना कमी-कमजोरी सच्याउँछन् भन्ने आशा थियो । मेरो मात्र होइन, धेरैको आशा थियो । दुई तिहाइ भोट त्यही आशा भएर पाएका थिए । जसले प्राप्त गरे यिनलाई अवसर पनि थियो । आफूले गर्न नसक्ने, भ्रष्टाचार मात्र गरिरहने त्यसपछि अरूले गर्न दिएनन् भनेर दोष लगाएर हुन्छ ?

तपाईंले पनि तत्कालीन एमालेमा सक्रिय राजनीति गर्नुभयो । संसदमा पुगेपछि पार्टीप्रति वितृष्णा बढ्दै गयो र विस्तारै राजनीतिबाट टाढिनुभयो । अहिले लेखनमै सक्रिय हुनुहुन्छ । प्रगतिशील भएर पनि कम्युनिष्ट पार्टीप्रति तपाईंको वितृष्णा बढेको हो ?

वितृष्णा भएको यिनै नेताहरूको कारण हो । यिनै नेता त्यसबेला संसदमा थिए । गुटबन्दी गर्थे । कमाउँछ भनेर आफ्ना गुटका हनुमानहरूलाई लेखा समितिमा पठाउँथे । अमेरिका पठाउने बेलामा आफ्ना गुटका हनुमानहरूलाई पठाउँथे । मैले मेरो क्षेत्रको समस्याको बारेमा लेखाउन पनि भयंकर ठूलो सकस हुन्थ्यो ।

जनताले मलाई जुन किसिमको आशा गरेर पठाएका थिए त्यो गर्न नसक्ने भएपछि यहाँ फिट छैन भन्ने ठानें । मेरो त आफ्नो क्षेत्र थियो । म त लेख्ने मान्छे हुँ । मसँग त हिजो पनि त्यही शक्तिशाली शब्द थियो । त्यो शब्दको पछि लागें म । यिनीहरू २०४६ पछि नै बिग्रन थालेका हुन् । नैतिक र राजनीतिक रूपले बिग्रेका थिए नै । इमानदारीका हिसाबले बेइमानी सिकेका हुन् ।

अहिलेको पुस्ताको कम्युनिष्टबाट चाहिं आशा सकिएको हो ?

पार्टीभित्र रहेका पुस्ताबाट ममा आशा छैन । उनीहरू स्वार्थसित झुण्डिएको देख्छु । सुवास नेम्वाङले संविधानमा डिफेन्ड गरेको देख्दाखेरि म चकित थिएँ । तर, अहिले उनी प्रधानमन्त्रीको पक्षमा गएर पछिल्तिर बस्ने ? सुवास र म सँगै जेल परेको हो । सुवासको चरित्र अहिले हेर्दा अचम्म पर्छु । त्यो भन्दा कम उमेरका मान्छे त्यस्तै किसिमका छन् ।

समाजभित्रबाट त्यस्तो कुरा आउने र राजनीतिक पुनर्गठन हुने कुरा छ । यिनै पार्टीले गर्छन् जस्तो लाग्दैन । ५० वर्षपछि नयाँ पुस्ता आउँछन् र तिनैले गर्छन् ।

ad