गणितमा एमए, शिक्षक, सफल किसान, मासिक कमाइ दुईलाख

image आइतबार​, आश्वीन २५ २०७७
image

केदार तिमल्सिना
बनेपा (काभ्रे), असोज २५ गते । गणित विषयमा स्नातकोत्तर बनेपाका प्रकाश तिमल्सिनाको परिचय केही वर्षअघिसम्म एक शिक्षक र सहकारीकर्मी थियो । तर अहिले उहाँको परिचय फेरिएको छ, सफल कृषक र उद्यमीका रुपमा । त्यस अर्थमा उहाँको दिनचर्या अन्य युवाको भन्दा फरक छ ।

पैँतीस वर्षीय विनोदको दिन बिहान ५ बजे उठेदेखि आफूले पालेका भैँसीको स्याहारसुसारमै बित्ने गरेको छ । वि. सं. २०७२ मा बनेपा नगरपालिका–५, घोकेचौरमा उहाँले स्थापना गर्नुभएको भैँसीफार्ममा अहिले २३ वटा भैँसी तथा पाडापाडी छन् ।

वि.सं. २०५७ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरी गणित विषयमा स्नातकोत्तर तह पास गर्नुभएका उहाँले २०६४ सालसम्म शिक्षण र त्यसपछि सहकारीमा काम गर्नुभएको थियो ।

‘अरुको नोकरी गर्दा जीविकोपार्जन मात्रै भयो, साथीभाइ धेरै चिनिए, तर यसले जीवनमा धेरै प्रगति हुने अवस्था देखिएन र आफैँ व्यवसाय गर्नुपर्छ भनेर भैँसीपालनमा लागेँ’ तिमल्सिनाले भन्नुभयो ।

उहाँले पाँच लाख रुपियाँबाट सुरु गरेको भैँसीपालन व्यवसायमा अहिले एक करोड रुपियाँभन्दा बढी लगानी भएको छ । निजी इन्ष्टिच्युटमा अतिरिक्त कक्षा पढाउँदा मासिक ७० हजारसम्म कमाएको र सहकारीमा काम गर्दा पनि राम्रो तलब लिने तिमल्सिना दीर्घकालीन पेशाको रुपमा भैँसीपालनमा लागेको बताउनुहुन्छ ।

उहाँको फार्ममा आफूसहित बुबा, आमा, दाजु, भाउजू र श्रीमती गरी छ जना दैनिक रुपमा भैँसीको रेखदेख तथा काममा व्यस्त हुनुहुन्छ । कोरोना भाइरसका कारण विद्यालय बन्द भएपछि छोराछोरीसमेतले उहाँहरुको काममा सघाउने गरेका छन् ।

तिमल्सिनाको फार्मबाट औसत दैनिक १५० लिटर दूध उत्पादन हुन्छ । उहाँले दैनिक २० लिटर दूध घरबाटै बिक्री गर्नुहुन्छ भने अरु बनेपाका दुई वटा डेरीमा बिक्री गर्नुहन्छ । आफू्ले उत्पादन गरेको दूध प्रतिलिटर ११० रुपिँयामा बिक्री गर्ने गरेको बताउनुहुन्छ । उहाँले व्यवसाय चलाउनका लागि बनेपामा रहेको प्राइम कमर्सियल बैङ्कबाट ऋण लिएको बताउनुभयो ।

आगामी दिनमा भैँसीको सङ्ख्या बढाएर ५० वटा बनाउने तिमल्सिनाको योजना छ । तिमल्सिनाले दुध बिक्रीबाट वार्षिक झण्डै ६० लाख रुपियाँ आम्दानी हुने गरेको र खर्च कटाएर वार्षिक ३० देखि ३५ लाख रुपियाँ बचत हुने गरेको बताउनुभयो ।

बचत रकमबाट नै फार्ममा भैँसी थप्ने, बैङ्कको ब्याज तथा किस्ता तिर्ने गरेको उहाँले बताउनुभयो । छोराछोरी पढाउने र परिवार चलाउने खर्च पनि यहीबाट हुने गरेको बताउनुभयो । ‘मैले अहिलेसम्म ब्याज, किस्ता र छोराछोरी पढाउनका लागि अरुसँग पैसा सापटी लिनुपरेको छैन’ उहाँले थप्नुभयो ।

उहाँले भैँसीको पाडापाडी, गोबर मल, तथा फार्मसँगै रहेको जग्गामा उत्पादित तरकारी बिक्रीसमेत गर्दैआउनु भएको छ । गत व्यवसायबाट गरी ७२ लाख रुपियाँ आम्दानी गरेको उहाँले बताउनुभयो । आम्दानीमध्ये झण्डै ५० प्रतिशत खर्च हुने उहाँले बताउनुभयो ।

तिमल्सिनाले व्यवसाय सुरु गरेको दुई वर्षमा अर्थात् २०७४ सालमा भैँसी मरेर ठूलो क्षतिसमेत व्यहोर्नुभएको थियो । उच्च ज्वरोका कारण फार्मका १४ वटा भैँसी मरेका थिए भने झण्डै २० लाख रुपियाँको क्षति पुगेको थियो ।

‘फार्ममा पालिएका भैँसी मरेपछि मलाई आफन्त र छिमेकीले अर्को व्यवसाय गर्न सुझाव दिनुभयो । एकपटक डुबे पनि यही पेशाबाट नै प्रगति गर्छु भनेर फेरि व्यवसाय सुरु गरेँ ।’ तिमल्सिनाले भन्नुभयो । नेपालमा नै काम गर्न सकेको खण्डमा २५/३० हजार रुपियाँ कमाउनका लागि विदेश जानु नपर्ने उहाँको अनुभव छ ।

उहाँले आगामी दिनमा वार्षिक एक हजार किलो गोबरलाई प्रशोधन गरी कम्पोष्ट मल बनाउनका लागि विभिन्न सङ्घसंस्थासँग कुराकानी भइरहेको बताउनुभयो । फार्ममा एक लाखदेखि दुई लाख २५ हजार रुपिँयासम्मको भैँसी पालिएका छन् ।

भैँसीका लागि चाहिने आहारा काभ्रे, चितवन, झापालगायत जिल्लाबाट ल्याउने गरेको उहाँले बताउनभयो । दीर्घकालीन सोच राखेर काम गरेको खण्डमा व्यवसाय सफल हुने उहाँको भनाइ छ ।GP