भारतीयद्वारा सशस्त्र सीमा पोष्टमा आक्रमण, चार राउण्ड हवाइ फायर

image आइतबार​, श्रावण ४ २०७७
image

गौरीगञ्ज, ४ साउन । गौरीगञ्जमा गएराति हातहतियारसहित आएका भारतीयको एक जत्थाले सीमाको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण गर्दा दुई प्रहरी घाइते भएका छन् ।राति ९ वजे हातहतियारसहित आएको ५० जनाको जत्थाले गौरीगञ्ज–५ स्थित डाँगीटोलाको सीमाक्षेत्रमा रहेको पोष्टमा आक्रमण गर्दा सशस्त्र प्रहरीका दुई जना घाइते भएका हुन् ।प्रहरीमाथि घरेलु आक्रमण गरेपछि भारतीयलाई सशस्त्र प्रहरीले चार राउण्ड हवाइ फायर गरेर तितरवितर पारेको थियो ।

डाँगीटोलास्थित पिलर नं.१५२ को करिब ३ सय मिटर पूर्वमा रहेको अस्थायी सशस्त्र प्रहरी पोष्टमा उक्त आक्रमण भएको थियो ।भाला, खुकुरी, रड, दाउ लगायतको घरेलु हातहतियारसहित आएका भारतीयहरूले त्यहाँ स्थापना गरिएको सशस्त्रको अस्थायी पोस्टमाथि आक्रमण गरेपछि स्थितिलाई नियन्त्रण गर्न प्रहरीले ४ राउण्ड हवाई फायर गरेको सीमा सशस्त्र प्रहरी बल गौरीगञ्जका प्रहरी निरीक्षक साईमन श्रेष्ठले बताए ।झडपका क्रममा दुइ जना सशस्त्र प्रहरी जवान सामान्य घाइते भएका छन् । शरीरमा चोटपटक र नीलडाम समेत रहेको बताइएको छ ।

हवाइ फायरपछि तितरवितर भएका भारतीयहरु भारततर्फनै भागेको प्रहरीले जनाएको छ ।भारतीय तस्करहरूले नेपालतर्फ मालसमान लान नपाएको झोकमा प्रहरीमाथि आक्रमण गरेको बताइएको छ ।लामो समयसम्म लडडाउनका कारण सिमाक्षेत्रमा सशस्त्र प्रहरीले कडारुपमा गस्ती गरेपछि उनीहरूले मालसमान नेपालतर्फ ल्याउन पाएका छैनन्