काँग्रेसले खेलाडी सम्मान गर्ने

image सोमबार, श्रावण १२ २०७७
image

श्रावण १२ काठमाण्डौ 

नेपाली काँग्रेस केन्द्रीय खेलकुद विभागले १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता खेलाडीलाई यसै साता सम्मान गर्ने भएको छ । 

कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा सागका स्वर्ण पदक विजेतालाई शुक्रबार सम्मान गर्न लागिएको विभागका सचिव मिनकृष्ण महर्जनले जानकारी दिनुभयो ।

गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं सागमा नेपालले अहिले सम्मकै सर्वाधिक सफलता हात पार्ने क्रममा ५१ स्वर्ण पदकसहित २ सय ७ पदक जितेको थियो । ३६ वर्षे साग इतिहासको पदक तालिकामा नेपाल दोस्रो भएको त्यो दोस्रो अवसर हो । त्यसअघि आठौं सागमा पनि नेपाल पदक तालिकाको दोस्रो स्थानमा रहन सफल भएको थियो ।

काँग्रेसले स्वर्ण पदक विजेता व्यक्तिगत र समूहगत सबैलाई समान १० हजार रुपैयाँ दिने तयारी गरेको विभागका उप संयोजक मोहन राईले बताउनु भयो । 

दोहोरो स्वर्ण पदक जित्ने ३ खेलाडीले १५ र ४ स्वर्ण पदक जित्नेतलाई काँग्रेसले २५ हजार रुपैयाँ दिने भएको छ । पौडीकी गौरिका सिंहले १३ औं सागमा ४ स्वर्ण पदक जितेकी थिइन् भने तेक्वान्दोकी आयशा शाक्य, कराँतेका मन्डेकाजी श्रेष्ठ र गल्फका सुबास तामाङले समान २ स्वर्ण पदक जितेका थिए । समूहगत खेलमा नेपालले पुरुष फुटबलमा स्वर्ण पदक जितेका थिए ।

स्वर्ण पदक विजेतालाई पार्टी कार्यालय सानेपामा आयोजना हुने कार्यक्रममा सम्मान गरिने र जिल्लामा हुने खेलाडीको हकमा सोही जिल्लामा पार्टीमार्फत सम्मान गरिने उपसंयोजक राईले जानकारी दिुनभयो । अर्को चरणमा सागका रजत र कास्य पदक विजेता खेलाडीलाई पनि सम्मान गरिने विभागका संयोजक मोहनबहादुर बस्नेतले बताउनुभयो ।