स्वास्थ्यकर्मीबाट कोरोना सल्किने भन्दै अहेबमाथि आक्रमण

image RSS बुधबार, जेष्ठ २१ २०७७
image

डोटी । जिल्लाको शिखर नगरपालिका–९ दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुँवरमाथि तीन जनाको समूहले आक्रमण गरी गम्भीर घाइते बनाएको छ ।

गाउँको बाटो हिँड्ने क्रममा कोरोना सङ्क्रमण फैलिने भन्दै मदिरा सेवन गरेका स्थानीय तीन व्यक्तिले उनलाई गालीगलौज गर्दै ढुङ्गामुढा प्रहार गरी घाइते बनाएको बताइएको छ ।

स्वास्थ्यकर्मीबाट कोरोना सल्किने भन्दै बिनाकारण आफूमाथि आक्रमण गरेको घाइते स्वास्थ्यकर्मी कुँवरको आरोप छ ।

आक्रमण गर्ने तिनै जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए ।

पक्राउ पर्नेमा शिखर नगरपालिका–७ का नवीन खत्री, रोशन खत्री र तेज लुहार छन् ।

स्थानीयवासीको कुटपिट तथा आक्रमणबाट गम्भीर घाइते भएका स्वास्थ्यकर्मी कुँवरलाई उपचारका लागि डडेलधुरा अस्पताल पठाएको र त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौँस्थित ट्रमा सेन्टर लगिएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले जानकारी दिए ।

स्वास्थ्य सामग्री लिएर दानकोट स्वास्थ्यचौकी जाँदै गरेका कुवँरमाथि उनीहरुले आक्रमण गरेका थिए ।